काठमाण्डौ । भोट हाल्नकैलागी लुम्बिनी प्रदेशका दुई मतदाता भने हेलिकप्टरमा चढेर मतदानस्थल पुगेका छन् । नवलपरासी प्रतापपुर गाउँपालिकाकी उपाध्यक्ष अन्जुकुमारी चौधरी र पाल्पा रामपुर नगरपालिकाकी उपमेयर विष्णुदेवी उपाध्याय हेलिकप्टरमा मतदान स्थल पुगेका हुन् । उनीहरु हेलिकप्टर चढेर मतदान गर्न दाङ पुगेका हुन् ।
उनीहरू दुबै जना ०७४ को निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार भई निर्वाचित भएका थिए । बिरामी रहेका उनीहरूलाई हेलिकप्टरबाट मतदान स्थल ल्याइएको एक नेताले बताए । दुई जिल्लाका उनीहरूलाई लिन एकै हेलिकप्टर गएको थियो ।
लुम्बिनीमा प्रदेश सभाका ८१ जनाले नै मतदान गरेका छन् । भने स्थानीय तहका २१५ मध्ये २१३ जनाले मतदान गरेका थिए । राप्रपाबाट निर्वाचित नेपालगञ्ज उपमहानगरका मेयर धवलशम्शेर राणा र राप्रपाकै अर्का एक मतदाता भने मतदानमा उपस्थित भएका थिएनन् ।
राष्ट्रिय सभा सदस्यका लागि लुम्बिनी प्रदेशमा भएको मतदानको प्रदेश सभा सदस्यको मतगणना सकिएको छ । तीन जना राष्ट्रिय सभा सदस्य छान्न ८१ प्रदेश सभा सदस्यले मत हालेका थिए । निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार अहिले प्रदेश सभा सदस्यको मतगणना सकिएको छ ।
जसमा सत्तारूढ गठबन्धनका उम्मेदवारका पक्षमा २१६० मतभार पुगेको छ भने नेकपा एमालेका उम्मेदवारका पक्षमा १७२८ मतभार छ। प्रदेश सभा सदस्यको मतभार ४८ हुन्छ । राष्ट्रिय सभा सदस्यका लागि सत्तारूढ गठबन्धनले साझा उम्मेदवार बनाएको थियो । राजेन्द्रलक्ष्मी गैरे (एकीकृत समाजबादी),
कुलप्रसाद विश्वकर्मा (राष्ट्रिय जनमोर्चा) र युवराज शर्मा (कांग्रेस) उम्मेदवार हुन् भने एमालेले भारती उपाध्याय खनाल, कृष्ण सुनार, रामदयाल गुप्तालाई उम्मदवार बनाएको छ । अब स्थानीय तहतर्फको २१३ मत गणना हुँदैछ। स्थानीय तहका मतदाताको मतभार १८ हुन्छ ।
रिक्त १९ पदका लागि आज सातै प्रदेशमा राष्ट्रिय सभा निर्वाचन भएको छ । दिउसो ३ बजे सम्मका लागि दिइएको मतदानको समय अब सकिएको छ । निर्वाचन आयोगले बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म मतदानका लागि समय दिइएको थियो । केही स्थानमा मतगणना समेत सुरु भएको छ ।






