काठमाण्डौ । मौसम परिवर्तनको समय शुरु भएसँगै धेरै मानिसहरुमा मौसमी रुघाखोकीको समस्या देखिन थालेको छ । यस सँगै कोरोनको पछिल्लो भेरिएण्ट ओमिक्रोनको संक्रमण पनि तीव्र गतिमा बढिरहेको छ । आम मानिसले आफूलाई भएको संक्रमण मौसमी रुघाखोकी हो की कोभिड संक्रमण छुट्ट्याउन सकिरहेका छैनन् ।
यसले अस्पतालमा दैनिक रुपमा रुघाखोकीका बिरामीको चाप बढिरहेको छ । अल्का अस्पताका चिकित्सक डा रक्षा गौतम आफूमा कोरोनाको जस्तो लक्षण देखिएमा पीसीआर परीक्षण गर्नुपर्ने बताउँछिन् । मौसमी परिवर्तनले हुने रुघाखोकीका लक्षण भएका बिरामीहरुको चाप धेरै बढेको छ ।
उनको भनाई अनुसार गएको दुईहप्ता देखि अल्का हस्पिटलको ओपीडीमा बिरामीको चाप तीन, चार गुणाले बढ्दै गईरहेको छ । एकजना फिजिसियनलाई नै धौ धौ हुनेगरी बिरामी आईरहेको उनले बताईन् । मौसमी परिवर्तनले हुने संक्रमण कमन कोल्ड (चीसोले हुने रुघाखोकी) हो । कमन कोल्डको आधारभूत लक्षण छुट्याउने एकदम सजिलो तरिका ज्वरो भएको उनको भनाई छ ।
साथै उनले ज्वोरो धेरै हुँदैन मौसमी परिवर्तनले हुने लक्षणहरुमा बिरामीहरुलाई ज्वरो नआउने उनी बताउँछिन् । उनका अनुसार सामान्य जिउ दु ख्ने, रुघाखोकी, रुघामर्की एकदुई दिनमा आफै ठिक भएर जाने, घरको एउटा सदस्यलाई भएको हुन्छ, प्राय सबै सदस्यहरुलाई त्यस्तै लक्षण ट्रान्सफर भइराखेको हुन्छ । फ्लु भनेको चाहीँ जुन ओमिक्रोन, डेल्टा, कोभिड अथवा इन्फ्लुएन्जा हो । सबै फ्लुको फेमिलीमा पर्दछन् ।
उनी भन्छिन्,‘हामीले इन्फ्लुयन्जा सुनिरहेको फ्लु हो । सिजनल फ्लु हरेक वर्ष हुन्थ्यो । सय वर्ष अघिदेखिको फ्लु हो यो । इन्फ्लुयन्जा र कोभिड फ्लु मा चाहीँ हामीले प्रायः ज्वरो पनि देख्छौँ । ज्वरो आयो भने पक्कै पनि मलाई फ्लु भयो भनेर बुझ्नु पर्यो । फ्लुमा पनि इन्फ्लुयन्जा हो कि, कोभिड १९ हो कि, कोभिड १९ को डेल्टा हो कि, ओमिक्रोन हो कि त्यो छुट्याउन लक्षणकै आधारमा चाहीँ अलिकति गाह्रो छ ।’
यसै विषयलाई निरन्तरता दिंदै उनी अगाडी भन्छिन्,‘तर हामीले बिरामीको प्याटर्न हेर्दाखेरी चाहीँ फ्लु भएकाहरुलाई, इन्फ्लुयन्जा भएकाहरुलाई ज्वरो, रुघाखोकी, टाउको दुख्ने, आँखाको पछाडीको भाग दुख्ने, जिउ दुख्ने, झाडापखला लाग्ने, प्रायः बास्ना र स्वाद जाने त्यस्तो लक्षण चाहीँ कोभिडमा मात्रै देखिरहेको छ । बास्ना र स्वादपनि गएको हामीले यसपालि पाएका छौँ । र अहिले ओमिक्रोनको कुरा गर्दा त्यही लक्षणहरुमा प्लस, माइनस, तथा घाटी दुख्ने लक्षणहरु अलि बढी हामीले ओपीडीमा पाइरहेका छौँ ।’
डा. गौतमको भनाई अनुसार घाँटी एकदमै दुख्यो भनेर जाने बिरामीहरुको चाप हस्पिटलमा बढिरहेको छ । विशेष गरी टन्सिल नै भयो भनेर चेकजाँच गराउन जानेको संख्या धेरै नै छ । तर हेर्दाखेरी त्यो कोभिडको पिक सिजन भइराखेको देखिन्छ । उनी भन्छिन्,‘हामीले बिरामीहरुलाई हेर्दाखेरी पीसीआर गर्दा पोजेटिभ आइराखेको छ । तर अब घाँटी दुख्दैमा, ज्वरो आउँदैमा, रुघामर्की लाग्दैमा यही ओमिक्रोन हो, यही डेल्टा हो, बास्ना र स्वाद छैन यो डेल्टा हो । बास्ना र स्वाद छ यो इन्फ्लुयन्जा हो भनेर हामीले क्लिनिकली छुट्याउन सकिदैनँ । पीसीआर गर्नैपर्छ ।’
मौसमी परिवर्तनले हुने कमन कोल्ड, जुनमा ज्वरो हुँदैन, त्यो सामान्य घरमा पाइने पारासिटामोल जस्ता औषधीहरु प्रयोग गरेर, पहिलेदेखि चलिआएका चलनहरु मन तातो पानि खाने, पानीको मात्रा शरीरमा बढाउने, आराम गर्ने, धपेडी नगर्ने, चिसोमा नहिड्ने त्यो चाहीँ मौसमी कमन कोल्डलाई त्यतिले नै पुग्ने डां गौतमको भनाई छ ।






