काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निजी सचिवालयमा कार्यरत थप दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मन्त्री आलेका प्रेस संयोजक विमलबहादुर विष्ट तथा प्रशासन सहायक भक्तबहादुर आलेलाई कोरोना सङ्क्रमण पुष्टि भएको सचिवालयले जनाएको छ ।
सोमबार गरिएको कोरोना परीक्षणमा उनीहरू दुवै जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको सचिवालयले जनाएको छ । मन्त्री आलेसहित उनका स्वकीयसचिव हेमन्त रेग्मीलाई सोमबार नै कोरोना सङ्क्रमण पुष्टि भएको थियो । पोजेटिभ देखिएकाहरूको अवस्था सामान्य रहेको र मन्त्री आलेसहित सबै होमआइसोलेशनमा रहेका बताइएको छ ।
योपनि बागलुङ नगरपालिका १३ स्थित त्रिभुवन माध्यमिक विद्यालयका २८ विद्यार्थी र शिक्षकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ८२ जनाको पिसिआर परीक्षण गर्दा २६ विद्यार्थी र दुई शिक्षकमा कोरोना पुष्टि भएको नगर स्वास्थ्य अधिकृत रामप्रसाद खनालले जानकारी दिए । दुई शिक्षक र एक विद्यार्थीमा कोरोना पुष्टि भएपछि थप विद्यार्थीको पिसिआर परीक्षण गरिएको थियो ।
विद्यार्थी र शिक्षकमा कोरोना संक्रमण पुष्टि भएपछि विद्यालय बन्द गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । बलेवा क्षेत्रका विद्यालय केही दिन बन्द गरेर एन्टिजिन परीक्षण गर्न नगर शिक्षा शाखालाई अनुरोध गरिएको खनालले बताए । बलेवा क्षेत्रमा बागलुङ नगरपालिका १२, १३ र १४ नम्बर वडा पर्छन् । बिहीबार थप तीन स्थानीय बासिन्दामा पनि कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।
कोरोना संक्रमण पाइएपछि स्वास्थ्य कार्यालयको टोली आज जान लागेको स्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य निरीक्षक देवप्रकाश घिमिरेले बताए ।बागलुङमा बुधबारसम्म जम्मा १३ सक्रिय संक्रमित रहेकामा बिहीबारमात्रै थप संक्रमित थपिएपछि संख्या ४१ पुगेको छ । दुई जना संक्रमित धौलागिरि अस्पतालको आइसोलेशनमा छन् ।






