काठमाण्डौ । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले कार्यभार सम्हालेपछिका एक सय दिनमा गरेका कामको प्रगति विवरण सार्वजनिक गरेकी छन् । मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी भन्त्री झाँक्रीले ३७ बुँदे कार्यप्रगति विवरण सार्वजनिक गरेकी हुन् । उनले नीतिगत व्यवस्थापन, विभिन्न आयोजना र कार्यक्रममा भएको काम पनि सार्वजनिक गरेकी छन् ।
उनले चालु आर्थिक वर्षमा मन्त्रालयको कुल बजेट ३० अर्ब ८४ करोडमध्ये चालुतर्फ ३५ र पुँजिगततर्फ १७ प्रतिशत खर्च भएको कार्यक्रममा जानकारी दिएकी छन् । ६ महिनामा मन्त्रालयको समग्र प्रगति १८ दशमलब ९१ प्रतिशत रहेको छ । कार्यक्रममा शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले नीतिगत सुधारको कामलाई प्राथमिकता दिएर काम गरिरहेको बताएकी छन् ।
उनले नीतिगत सुधार गर्ने क्रममा विद्यमान राष्ट्रिय शहरी नीतिलाई परिमार्जन गरी संघीय ढाँचा अनुकूल बनाउन प्रस्तावित नीतिका उदेश्यहरुलाई अन्तिम रुप दिइ प्रदेश र पालिका लगायतका सरोकारवालासँग अन्तरक्रिया गर्ने तयारी गरिएको पनि बताईन् ।
त्यस्तै युटिलिटी करिडोर सम्बन्धी व्यवस्था र शहरी पूर्वाधारमा ऋण तथा अनुदान लगानीका विषयहरुमा दिशाबोध हुने गरी शहरी विकास विधेयकको मस्यौदालाई पनि अन्तिम रुप दिइएको उनले जानकारी दिईन् ।
उनले आफू मन्त्रीको रुपमा कार्यभार सम्हालेसँगै वाग्मती सभ्यता संरक्षण तथा विकास सम्बन्धी विधेयकको मस्यौदालाई अन्तिम रुप दिइएको, शहरी पूर्वाधार विकास निगम र नगर वित्त निगम स्थापनाका लागि विधेयकको मस्यौदालाई अन्तिम रुप दिइएको र उपत्यकाका सबै नगरपालिकामा बस्ती विकास,
शहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत मापदण्डमा एकरुपता कायम गर्न विद्यमान मापदण्डको परिमार्जित मस्यौदा तयार पारिएको उल्लेख गरिन् । मन्त्री झाँक्रीले मन्त्रालय र अन्तर्गतका निकायहरु बाट हुने खरिद कार्य उपभोक्ता समिति मार्फत गराउन रोक लगाइएको विषयको जानकारी दिईन् ।






