काठमाण्डौ । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले गृहमन्त्रालयको निर्देशनको अपहेलना गरेकी छन् । कोभिडको बढ्दो संक्रमण दरका कारण अन्य मन्त्रालयले कार्यक्रम स्थगित गर्दा मन्त्री झाँक्रीले भने भिड जम्मा गरेर आफ्नो प्रगति विवरण सार्वजनिक गरेकी छन् ।
मन्त्रालयको कार्यभार सम्हालेको १०० दिन पुगेको अवसरमा उनले सोमबार पत्रकार सम्मेलनको आयोजना गरेर आफ्नो प्रगति विवरण सार्वजनिक गरेकी हुन् ।उपत्यकाका तीन सिडियो कार्यालयले संक्रमण उच्च रहेको भन्दै २५ जना भन्दा बढी सहभागी नहुन निर्देशन गरेको छ ।
तर मन्त्री झाँक्रीले आयोजना गरेको पत्रकार सम्मेलनमा एक सय भन्दा बढी सहभागी भएका थिए । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्का ४० जना कर्मचारीमा कोभिड देखिएको छ । केही मन्त्री आफै संक्रमित भएका छन् । यस्तो बेलामा मन्त्रालयले पत्रकार सम्मेलन
लगायतका सार्वजनिक कार्यक्रम बन्द गरेका बेला मन्त्री झाँक्रले भने भिड जम्मा गरी प्रगति विवरण सार्वजनिक गरेकी हुन् । मन्त्री झाँक्रीको पत्रकार सम्मेलनमा भने अत्याधिक भीड देखिएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको छ ।
सरकारले २५ जनाभन्दा बढी भेला हुन रोक लगाएका बेला मन्त्री झाँक्रीको पत्रकार सम्मेलन हलमा झन्डै १ सय जना सहभागी भएको बताइएको छ । उता, शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाललाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
उनकै मन्त्रालयका अन्य कर्मचारीहरुसहित कन्ट्रयाक ट्रेसिङमा परेका छन् । यस्तो बेला मन्त्रालयमा अत्याधिक भीडभाडसहित पत्रकार सम्मेलन गर्दा स्वास्थ्य मापदण्डको उल्लंघन भएको भन्दै आलोचना गरिएको हो ।
मन्त्री झाँक्रीले पत्रकार सम्मेलनमा सरकारकै आन्तरिक संयन्त्र र आफ्नै मन्त्रालयमा पनि एक अर्को शाखा र महाशाखाबीच समन्वयको अभाव रहेको काम गर्ने सन्दर्भमा अनुभव भएको बताइन् ।
उनले अहिले देशमा तीन तहको सरकार रहेको भन्दै तीन तहको सरकारको बीचमा अहिले समन्वय नभएकाले काम गर्न ठुलो समस्या हुने गरेकाले त्यसलाई हटाउन जरुरी रहेको बताइन् । उनले आफूले सय दिनमा भौतिक काम भन्दा पनि पेपर वर्क बढी
गरेको भन्दै सबै प्रदेश र स्थानीय तहसँग आगामी दिनमा समन्वय गरेर काम गर्ने बताइन् । साथै उनले नेपालको संघीयताको मोडल एकअर्कामा कोअपरेट गर्ने खालको रहेको पनि बताइन् ।






