काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन नियन्त्रणका लागि सबै पार्टी एकजुट हुनुपर्ने बताएका छन् । प्रधानमन्त्री देउवाले तेरो पार्टी, मेरो पार्टी भन्दा पनि राष्ट्र नै एकजुट भएर कोरोना संक्रमण नियन्त्रणका लागि लाग्नुपर्ने बताएका हुन् ।
शनिबार आफ्नै सरकारी निवास बालुवाटार पुगेका एमाले संसदीय दलका उपनेता सुवाष नेम्वाङ नेतृत्वको टोलीको ज्ञापनपत्र बुझ्दै उनले कोरोनाको नयाँ लहरले ल्याएको नयाँ चुनौतीको सामना गरेर अघि बढ्न सबै राजनीतिक दलहरुले आ–आफ्नो ठाउँबाट सक्दो प्रयास गर्नुपर्ने आवश्यक्ता पनि औंल्याए ।
प्रधानमन्त्री देउवाले यो महामारीको नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रमलाई बढी जोड दिएर अघि बढाउनुपर्ने पनि स्पष्ट पार्नु भयो । ‘कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको नयाँ चुनौती आएको छ । यसको मुकाविला सबै लागेर गर्नुपर्छ । तेरो पार्टी, मेरो पार्टी भन्दा पनि, राष्ट्र नै यसको लागि एक भएर जानुपर्छ ।
यसका लागि अर्को महत्वपूर्ण कुरा ‘अवेरनस’ हो । जनतालाई बुझाउनुपर्ने कार्यक्रम राख्नुपर्छु उनले भने,‘हामीले यसका लागि ‘अवेरनेस प्रोग्राम’ मार्फत जनतालाई भन्नु पर्छ, जनतालाई सम्झाउनुपर्छ । हामी सबै पार्टीहरुले आ–आफ्नो ठाउँबाट यसको रोकथामको लागि प्रयास गर्नुपर्छ ।’
प्रधानमन्त्री देउवाले सरकारले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको चुनौती सामना गर्न सक्दो कोसिस गरिरहेको पनि बताए । यता, एमालेले भने आफ्नो पार्टी नेतृत्वको सरकारले व्यवस्था गरेको कोरोनाविरुद्धको खोपको समेत प्रभावकारी परिचालन गर्न नसकेको भन्दै सरकारको आलोचना गरेको छ ।
त्यसैगरी एमालेले बालिबालिका, गर्भवती, वृद्धवृद्धा, असक्तहरुलाई घरघरमै सो खोपको व्यवस्था गर्न पनि सरकारसँग माग गरेको छ । एमालेका सचिव एवम् स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेशकुमार भट्टराईले यो महामारी नियन्त्रणका लागि स्थानीय तह र स्थानीय स्वास्थ्य ईकाईसम्म स्रोतसाधन र जनशक्ति पर्याप्त मात्रामा उपलब्ध गराउन पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको बताए ।
यस्तै एमालेले ज्ञापन पत्रमार्फत् कोरोना नियन्त्रणका लागि थप जनशक्ति परिचालन गर्न, संक्रमितहरुको उपचारका लागि आवश्यक अस्पताल, होल्डिङ सेन्टर, औषधिको व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गराएको छ । सचिव भट्टराईले यो महामारी नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रममा जोड दिन पनि सरकारको ध्यानाकर्षण गराइएको बताए ।






