काठमाण्डौ । सरकारले भाइरसविरुद्धको बुस्टर डोज दिने भएको छ । यसअघि भाइरसविरुद्धको खोप लगाएका व्यक्तिलाई खोपको थप मात्रा दिन लागिएको हो । स्वास्थ्य सेवा विभागकी जनस्वास्थ्य अधिकृत अन्जु बस्नेतका अनुसार अग्रपंक्तिमा खटिने र ६० वर्षदेखि माथिका नागरिकहरुलाई बुस्टर डोज दिन लागिएको हो ।
त्यसका लागि माघ २ र १४ गते तोकिएको छ । माघको सुरुमा अग्रपंक्तिमा खटिने व्यक्तिहरुलाई र माघ महिनाको दोस्रो हप्तादेखि ६० वर्ष र माथिका नागरिकहरुलाई बुस्टर डोज दिन निर्णय भएको बस्नेतले जानकारी दिइन् ।
पहिले लगाएकै खोपको पूर्ण मात्रा लगाइसकेका साथै ६ महिना पूरा भइसकेका नागरिकहरुलाई बुस्टर डोज लगाइने छ । यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ नियन्त्रका लागि सबै एक जुट हुनुपर्ने बताएका छन् ।
शनिबार प्रमुख प्रतिपक्ष नेकपा एमाले कोभिड नियन्त्रणका विषयमा ज्ञापन पत्र बुझाएपछि बोल्दै प्रधानमन्त्रीले सबै मिलेर तेस्रो लहरलाई परास्त गर्नुपर्ने बताएका हुन् । ‘कोभिड नियन्त्र र रोकथामका लागि तेरो पार्टी, मेरो पार्टी नभनी हामी सबै एक हुनुपर्छ’, प्रधानमन्त्री देउवाले भने, ‘सबैको सहकार्य र एकताबाट कोभिड नियन्त्रण र रोकथाम गर्न सकिन्छ ।’
प्रधानमन्त्री देउवाले तेस्रो लहरसँग आएको ओमिक्रोन भाइरस धेरै संक्रमक भएकाले सवधानी अपनाउन र सचेतना फैलाउन सरकारले पहल गरिरहेको पनि बताए । प्रधानन्त्रीले आफूले सरकारको नेतृत्व गरेपछि कोभिड विरुद्धको खोप लगाउने संख्या बृद्धि भएको
बताउँदै सबै खोप लगाउन योग्य नागरिकलाई दुबै डोज खोप लगाउनेगरी सरकार अघि बढेको पनि बताए । एमाले नेता सुवासचन्द्र नेम्वाङको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीलाई कोभिड रोकथाम र उपचारका बारेमा ज्ञापनपत्र बुझाएको छ ।






