काठमाण्डौ । नेकपा (क्रान्तिकारी माओबादी) का महासचिव मोहन वैद्यले नेकपा (माओबादी केन्द्र) लगायतका पूर्वमाओवादी घटकहरूसँग एकताको सम्भावना नरहेको बताएका छन् । मङ्गलबार क्रान्तिकारी पत्रकार महासङ्घले काठमाण्डौमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महासचिव वैद्यले नेकपा (माओबादी केन्द्र) लगायतका पूर्वमाओबादी घटकहरू बीचमा एकताको सम्भावना नरहेको बताएका हुन् ।
माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकता हुन्छ भनेर लगातार भनिरहेको भए पनि त्यो पार्टीसँग एकताको कुनै सम्भावना नरहेको स्पष्ट पारे । आफूहरूले वर्तमान राज्यसत्ता तथा संसदीय व्यवस्थालाई स्वीकार गर्न नसक्ने र माओबादी केन्द्र संसदीय व्यवस्थाको संरक्षकको रूपमा अघि बढेकाले एकताको सम्भावना नरहेको उनको तर्क थियो ।
महासचिव वैद्यले भने, ‘उहाँहरूले पार्टी एकता हुनसक्छ, पूर्वमाओवादीहरूसँग पार्टी एकता हुनसक्छ भनेर लगातार भन्नुभएको छ । तर हाम्रो पार्टीसँग सम्भव छैन । नेकपा (क्रान्तिकारी माओबादी) सँग सम्भव छैन । किन भन्नुहुन्छ भने हामीले पुरानो राज्यसत्ता, संसदीय व्यवस्था यसलाई स्वीकार गर्न सक्दैन भनी राखेका छौँ । प्रचण्डजीको पूरै जोड के छ भने, माोबादी केन्द्रका साथीहरूका जोड के छ भने यो संविधानको असली संरक्षक हामी हौँ । संसदीय व्यवस्थाको असली संरक्षक हामी हौँ भन्ने हिसाबले उहाँहरू गइरहनुभएको छ । त्यस कारणले उहाँहरूसँग एकताको सम्भावना छैन ।’
उनले मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग पनि एकताको सम्भावना नदेखिएको बताए । ती पार्टीसँग पनि राजनीतिक लाइन नमिलेको उनको भनाइ छ । कार्यक्रममा बोल्दै महासचिव वैद्यले एमसीसी परियोजना राष्ट्रघाती भएकाले खारेज हुनुपर्ने बताए । त्यसैगरी लिपुलेक, लिम्पियाधुरा र कालापानीको समस्या जटिल भइरहेको भए पनि वर्तमान सरकार केपी शर्मा ओली नेतृत्वको सरकार जति पनि बोल्न नसकेको बताउनुभयो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले त्यस क्षेत्रमा बाटो विस्तारको काम चलिरहेको छ भनिराखेको भए पनि नेपाल सरकार भने चुप लागेर बसेको उनले बताए । महासचिव वैद्यले राष्ट्रिय स्वाधीनताको निम्ति सशक्त रूपमा उभिनुपर्ने आवश्यकता औँल्याए । उनले आउँदो संसदीय चुनावमा आवश्यकताअनुसार पार्टीको केन्द्रीय कमिटीको निर्णयमा उपयोग अथवा वहिष्कारको नीति लिइने उल्लेख गरे ।






