काठमाण्डौ । नेकपा (एकीकृत समाजबादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको चर्को आलोचना गरेका छन् । अध्यक्ष नेपालले प्रधानमन्त्रीबाट निकालेको पीडा खप्न नसकेपछि ओली भुक्दै हिँडेको भन्दै कोही डाक्टर भए उपचार गरिदिन सुझाव समेत दिए ।
शनिबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले ओलीले आफूले गज्जव काम गरेको भनेर गुड्डी हाँक्दै हिँडेको आरोप समेत लगाए । अध्यक्ष नेपालले ओलीले माओबादी केन्द्रका अध्यक्ष प्रचण्डको टाउकोमा टेकेर आफूलाई अग्लो देखाउन नेकपा एकता गराएको टिप्पणी समेत गरे ।
ओलीले पार्टीभित्र सबैलाई अनादर गरेपछि आफूहरुले अलग पार्टी बनाएको उनको दाबी थियो । ‘केपी ओलीमा व्यक्तिवाद सवार भयो । मैमत्त प्रवृत्ति सवार भयो । म भन्दा जान्ने, सुन्ने कोही छैन भन्ने प्रवृत्ति हुर्केर आयो । उनमा दम्भी नेताको विशेषता देखियो ।’
अध्यक्ष नेपालले भने,‘हामी त्यो प्रवृत्ति भोग्दाभोग्दा वाक्क, दिक्क भएर आयौँ । दुईटा पार्टीहरु एमाले र माओवादी मिल्ने भए भनेर हामी पहिले खुसी भएका थियौँ । तर त्यो उद्देश्य अर्कै रहेछ । त्यो उद्देश्य भनेको हाम्रो प्रचण्डको टाउकोमा चढेर म सबैभन्दा अग्लो छु भनेर देखाउने सोच रहेछ ।’
अध्यक्ष नेपालले ओलीले राप्रपाका नेताहरुलाई प्यारो ठान्ने गरेको टिप्पणी पनि गरे । उनले पार्टी भित्र ‘केपी बा’ भन्नेहरुलाई मात्रै ओलीले संरक्षण दिने गरेको बताए । उनले पार्टी नेता, कार्यकर्तालाई ओली दम्भी भएको भन्दै त्यस्तो नबन्न पनि पटकपटक सचेत पनि गराए ।






