काठमाण्डौ । नेपालमा पछिल्लो पटक २४ जनामा भाइरसको ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ । ओमिक्रोन संक्रमितमध्ये केही स्थानीयसमेत रहेको इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्णप्रसाद पौडेलले बताएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले शुक्रबार एक विज्ञप्ति निकालेर पुस लागेयता संकलित ११४६ पोजेटिभ नमुनाहरूको एस जिन स्क्रिनिङ गर्दा उक्त संख्यामा ओमिक्रोन भेरियन्ट देखिएको पुष्टि गरेको छ ।
‘देशभरबाट संकलित नमुनाहरुमध्ये उक्त संख्यामा ओमिक्रोन भेरियन्ट देखिएको हो,’ डा. पौडेलले भने, ‘देखिएकामध्ये केही विदेशबाट आएका र केही स्थानीय पनि छन् । यसको संकेत समुदायस्तरमा पनि ओमिक्रोन देखिन थाल्यो भन्ने हो ।’ नयाँ भेरियन्ट ओमिक्रोनलाई एकदमै संक्रामक भाइरस मानिन्छ । छिमेकी भारतमा यही भेरियन्टका कारण दैनिक एक लाखको हाराहारीमा संक्रमण देखिन थालिसकेको छ ।
नेपालमा पनि ओमिक्रोनको संक्रमण देखिएपछि शुक्रबार भाइरस संकट व्यवस्थापन समिति (सीसीएमसी) निर्देशक समितिको बैठक समेत बसिरहेको छ । यो बैठकले नयाँ लहर फैलिन नदिने सम्भावित विकल्प र कदमहरू चाल्न सक्नेछ। यो बैठक अहिले प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षता बसिरहेको छ ।
आवस्यकता परेको खण्डमा खतरा रहेका ठाउँमा लकडाउन गर्ने या केहि मापदण्ड बनाउने बिषयमा पनि छलफल हुने भएको छ ।छिमेकी भारतबाट आएका सयौँ नागरिकमा पनि संक्रमण देखिन थालेपछि सरकारले सतर्कताका उपाय खोज्न थालेको हो । स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा। संगीता कौशल मिश्राले ओमिक्रोन भेरियन्टबाट हुन सक्ने बिरामीको अ’त्यधिक चापलाई ख्याल गर्दै सबै अस्पतालहरुलाई उच्च तयारी अवस्थामा रहन निर्देशन दिइएको जानकार दिएकी छन् ।
मन्त्रालयले आवश्यक उपकरण र अक्सिजनसहितका अत्यावश्यक सामग्रीहरु तयारी अवस्थामा राख्न पनि देशभरका अस्पताललाई सर्कुलर गरेको छ । संकलित नमुनामध्ये प्रदेश नम्बर १ बाट ९, प्रदेश २ को वीरगञ्जबाट ४३, लुम्बिनी प्रदेशको दाङबाट २० नमुना जीन सिक्वेन्सिङका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । लुम्बिनी प्रदेशअन्तर्गत रुपन्देहीको बेलहैया नाकाबाट २८, नेपालगञ्चस्थित भेरी अस्पतालबाट १० र पाल्पाबाट ५ नमुना जिन सिक्वेन्सिङका लागि काठमाण्डौ पठाइएको थियो ।
लुम्बिनी प्रदेशमा प्रदेश जनस्वास्थ्य प्रयोगशालाका भैरहवाका ल्याब इन्चार्ज प्रेमकुमार यादवले भने, ‘संकलित नमुनामध्ये केही रिपोर्टमा ओमिक्रोन देखिएको छ । संख्या एकीन भएको छैन ।’ त्यस्तै कर्णाली प्रदेशबाट पनि जिन सिक्वेन्सिङका लागि काठमाडौं नमुना पठाइएको छ ।






