काठमाण्डौ । पश्चिमी न्यूनचापीय प्रणालीका कारण पश्चिमी क्षेत्रमा पानी पर्न थालेको छ । पश्चिमका केही ठाउँमा मङ्गलबार बिहानैदेखि पानी पर्न थालेको छ । अन्य ठाउँको मौसम भने बद्ली रहेको मौसमविद् वरुण पौडेलले बताए । उनकाअनुसार आज र भोलि दुई दिन देशभर मौसम बद्ली हुनेछ ।
धेरै ठाउँमा पानी पर्ने सम्भावना छ भने हिमाली जिल्लामा भारी हिमपातको पनि अनुमान छ । आज र भोलि काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने मौसमविद् पौडेलले बताए । पर्सि बिहीवारदेखि भने मौसम खुल्दै जाने मौसमविद्ले बताएका छन् ।
उनीहरुका अनुससार पर्सि (बिहीबार) बिहानदेखि पश्चिमी न्यूनचापीय प्रणाली कमजोर हुँदै जानेछ । सुदूरपश्चिम प्रदेशमा पर्सि बिहानदेखि नै मौसम खुल्ने सम्भावना रहेको र अरु ठाउँमा बिस्तारै क्रमिक रुपमा खुल्दै जाने मौसमविद्ले बताएका छन् ।
बादल लागेसँगै देशभर चिसो बढेको छ । यो वर्षापछि चिसो झन् बढ्ने छ । मौसमविद्ले हिमाली जिल्लामा भारी हिमपातको सम्भावना रहेकाले पर्वतारोहणमा जाँदा सावधानी अपनाउन सुझाव दिएका छन् । यो समाचार उज्यालोबाट






