काठमाण्डौ । पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले इतिहास अघि बढिसकेको भन्दै अब पछाडि फर्कने कुनै सम्भावना नरहेको प्रस्ट पारेका छन् । नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा शुभकामना मन्तव्य व्यक्त गर्दै उनले अब मुलुकमा कुनै व्यक्ति वा वंशको तानाशाही स्वीकार्य हुन नसक्ने बताए ।
नयाँ नेपाल निर्माण गर्ने हाम्रो मान्यता र विचार के हुन् भन्नेबारेमा दलहरुबीच छलफल गर्न जरुरी रहेको उनले औँल्याए । नेपालको राजनीतिक इतिहासमा दलहरू एकताबद्ध भएर अघि बढ्दा सफलता मिलेको चर्चा गर्दै उनले अहिले पनि एकताबद्ध भएर अघि बढ्न जरुरी रहेको बताए । राजतन्त्र अन्त्य, गणतन्त्र स्थापना, संघीयता, धर्मनिरपेक्षतालाई जोगाउन दलहरू एकै ठाउँमा उभिनुपर्नेमा उनले जोड दिए ।
देशमा नागरिकको अधिकार ठुलो हुने र पार्टीमा कार्यकर्ताको अधिकार ठुलो हुने उनको भनाइ छ । उनले भने, ‘राष्ट्रियताको सवालमा हामीबीच विमति हुनुपर्ने कारण छैन ।’ नेपाली समाजमा विभेद, असमानता, विभेद, अन्याय, अत्याचार विद्यमान रहेको उल्लेख गर्दै उनले यसलाई समाप्त पार्ने कुरामा दलहरू केन्द्रित हुनुपर्ने बताए ।
समाजवादमा जाने लक्ष्य निर्धारण भइसकेका कारण अब नेपाली विशेषताको समाजवाद कस्तो हुनेछ भनेर नेता, पार्टीहरू, वुद्धिजिवीहरुको बीचमा बहस हुन जरुरी रहेको उनले बताए । उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई यस्तो छलफल र बहस आयोजना गर्न सुझावसमेत दिए ।
उनले भ्रष्टाचार निमिट्यान्न पार्नुपर्ने भन्दै परिवर्तन नेपाली नागरिकको हितका लागि हुनुपर्ने बताएका छन् । कार्यक्रममा अध्यक्ष नेपालले देशमा रहेका असमानता, विकृति र विसङ्गति अन्त्य गर्ने कुरामा राजनीतिक दलको ध्यान केन्द्रित हुनुपर्ने बताए । उनले राजनीतिक दलहरू शोषण, उत्पीडनलाई समाप्त पार्ने कुरा, नागरिकको पीडा र वेदनालाई सम्बोधन गर्ने कुरामा केन्द्रित हुन सके मात्र आफूलाई लोकतान्त्रिक, वामपन्थी, कम्युनिस्ट भन्न सकिने बताए ।
अध्यक्ष नेपालले नागरिकको विश्वास जित्न कुरा गरेर मात्र पर्याप्त नहुने भन्दै काम र व्यवहारलाई नागरिकले अनुभूति गर्ने गरी राजनीतिक दलहरू लाग्नुपर्ने बताए । उनले भने,‘हाम्रो ध्यान असमानतालाई अन्त्य गर्ने कुरामा हुनुपर्छ । अन्यायलाई अन्त्य गर्ने कुरामा, विभेदलाई समाप्त गर्ने कुरामा, शोषण र उत्पीडनलाई समाप्त पार्ने कुरामा, नगरिकको पीडा र वेदनालाई सम्बोधन गर्ने कुरामा केन्द्रित हुनुपर्छ ।
त्यसो भए मात्रै हामीले आफूलाई लोकतान्त्रिक, वामपन्थी, कम्युनिस्ट भन्ने हो भने पनि त्यसको कुनै अर्थ रहन सक्छ । राजनीतिक पार्टी नागरिकको विश्वास जित्यो भने मात्रै अघि बढ्न सक्दछ । नागरिकको विश्वास जित्न कुरा मात्रै पर्याप्त छैन, काम र व्यवहारलाई नागरिकले हेर्न चाहन्छन् । काम र व्यवहारमा कहाँ चुक्यौँ रु त्यसको समीक्षा गरौँ । गरिबी अन्त्य गर्न पार्टीका नेताहरूको बीचमा छलफल हुनुपर्छ ।’






