काठमाण्डौ । लामो समय राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष रहेका कमल थापा नयाँ नेतृत्वलाई सहजै स्वीकार गर्न तयार भएनन् । उनले राजेन्द्र लिङ्देनलाई सहजै नेतृत्व हस्तान्तरण पनि गरेनन् । बधाई समेत दिन निकै दिन लगाए । उनले महाधिवेशनमा पूर्व राजा ज्ञानेन्द्रको हस्तक्षप भएको भन्दै छानविन गर्न माग राखे ।
अध्यक्ष राजेन्द्र लिङ्देनलाई बधाई दिँदै उनले चार बुँदे आफ्ना माग पनि बुझाए । तर अब थापालाई थप पिरलो परेको छ । कमल थापाले बुझाएको ४ बुँदे माग पत्रमाथि सुनुवाइ नगर्ने निर्णय राजेन्द्र लिङ्देनले गरेका छन् । थापाले मंसिर २७ गते लिङ्देनलाई पत्र लेख्दै राप्रपा महाधिवेशनमा निर्मल निवासले हस्तक्षेप गरेको भन्दै त्यसउपर छानबिन माग गरेका थिए ।
अध्यक्ष लिङ्देनले हिन्दु राष्ट्र र राजसंस्थामाथि पार्टीको नकारात्मक छवि बन्ने गरी कुनै पनि बहस, छलफल र निर्णय नलिने भएका हुन् । ‘राजसंस्था र हिन्दु राष्ट्रको एजेन्डा पार्टीको छ, त्यसमाथि नकारात्मक छवि बन्ने गरी कुनै पनि बहस, छलफल र निर्णय नलिने उहाँले भनिसक्नुभएको छ,’ लिङ्देननिकट नेता मोहन श्रेष्ठले भने, ‘जुन विषयवस्तुमाथि छानबिनको कुरा आएको छ, मलाई लाग्छ कुनै छलफल र निर्णय हुँदैन ।’
महाधिवेशनमा पराजित भएपछि थापाले निर्मल निवासले हस्तक्षेप गरी आफूलाई हराएको आरोप लगाएका थिए । राप्रपा महाधिवेशनपछि लिङ्देनले पहिलो बैठक मंसिर २२ गते पार्टी कार्यालय धुम्बाराहीमा बोलाएका थिए ।






