काठमाण्डौ । ओमानमा प्यारालाइसिस हुनुभएकी एक घरेलु महिला कामदारलाई त्यहाँ रहेको नेपाली दूतावासले नेपाल पठाएको छ । हिजो बुधबार नेपाली दूतावास र गैर आवासीय नेपाली संघ एनआरएनए ओमानको संयोजन ती महिलालाई एअर–स्ट्रेचरको व्यवस्था गरी नेपाल फिर्ता गरिएको दूतावासले जनाएको छ ।
दूतावासका अनुसार ओमानमा घरेलु कामदारको रूपमा कार्यरत उहाँ ७ महिना पहिले कोरोना संक्रमित भएकी थिईन् । त्यसपछि उनलाई निमोनिया भएको र त्यसमा थप संक्रमणहरू भई अर्ध प्यारालाइसिस समेत भएर उनी अस्पतालमै थिईन् । विगत ७ महिना देखि अस्पतालमा उपचाररत् रहेकोमा गएको ३ महिनादेखि अस्पतालले अब थप सुधार हुन समय लाग्ने र यो अवस्थामा नेपाल लान सकिने भन्ने जानकारी गराएको थियो ।
नेपालमा उनको परिवारस सल्लाह गरी नेपाल पठाइएको दूतावासले जनाएको छ । उनलाई सलालाबाट मस्कटसम्म ओमान एअरको विमानबाट तथा मस्कटदेखि काठमाण्डौ सलाम एअरको विमानबाट स्ट्रेचरको व्यवस्था गरि नेपाल ल्याइएको हो । दूतावासका अनुसार उनलाई नेपाल पठाउन लागेको झन्डै ९९ लाखमध्ये तीन लाख १२ हजार उनको छोरी ज्वाइँले बेहोरेको र बाँकी रकम दूतावास र एनआरएनएको संयोजनमा जुटाइएको हो ।






