काठमाण्डौ । रञ्जु दर्शनाले विवेकशील साझा पार्टी परित्याग गरेको घोषणा गरेकी छिन् । अध्यक्ष रवीन्द्र मिश्रलाई पत्र लेखेर उनले वैकल्पिक राजनीतिक श क्तिको खोलमात्रै ओढेको पार्टीमा आफू नरहने भन्दै साझा पार्टी परित्याग गरेको घोषणा गरेकी हुन् ।
२०७० सालदेखि सुरु भएको राजनीतिक यात्रामा कयौँ उतारचढाव आए पनि त्यसलाई पार गर्दै आइरहेको तर राजनीतिक यात्राको यो मोडमा वैकल्पिक राजनीति भनेर अघि बढिरहेको सङ्गठनको मूल नेतृत्वमै ढोङ्ग भेटिएको उनको पत्रमा भनिएको छ ।
उनले लेखेकी छन्, ‘सङ्घीय गणतान्त्रिक लोकतन्त्र देश नेपालमा वैकल्पिक राजनीतिको मूल चरित्र नै दुर्गन्धित बनाएर भइरहेका सम्पूर्ण कदम, व्यवहारले आउँदो दिनका नयाँ पुस्तालाई समेत नवीनतम सोच बोकेर नेपाली राजनीतिमा आउन बा धा एवम् विश्वासको खडेरी खडा गर्ने अवस्थाको सिर्जना भएको छ।’
आफ्ना लागि यो भन्दा दुःख लाग्ने कुरा अन्य नरहेको उनले लेखेकी छन् । विवेकशील साझा पार्टी भित्र अहिले विवाद बढ्दो छ । पार्टी अध्यक्ष रविन्द्र मिश्रले अस्ति संयोजक मिलन पाण्डेलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेका थिए । त्यही दिन पाण्डेले दुई सय सदस्य रहेको समानान्तर केन्द्रीय समिति समेत गठन गरेका थिए ।







