काठमाण्डौ । युवा नेतृत्वमा रहेको गैरनाफामूलक संस्था ‘हामी नेपाल’को पहिलो साधारणसभा सम्पन्न भएको छ । मंगलवार भक्तपुरमा संस्थाले पहिलो वार्षिक साधारणसभा सम्पन्न गरेको हो । सन् २०१५ मा स्थापना भएदेखि नै सामाजिक कार्यमा सघाउँदै आएका आफ्ना स्वयंसेवक तथा शुभचिन्तकलाई सम्मान गर्ने मुख्य उद्देश्य साधारणसभाको थियो ।
सो अवसरमा बार्बरा फाउण्डेशनका अध्यक्ष डा. सन्दुक रुइत, इन्फिनिटी होल्डिंग्सका अध्यक्ष दीपक भट्ट र निर्देशक उपेन्द्र हिरावत, शंकर ग्रूपका उपाध्यक्ष सुलभ अग्रवाल र प्रबन्ध निर्देशक साहिल अग्रवाल लगायत अतिथिलाई संस्थाले सम्मान गरेको छ । यसैबीच, संस्थाले सहयोग दान गरिएको रकम र संस्थाको सबै खर्च पारदर्शी बनाउने उद्देश्यले आफ्नो वेबसाइट पनि सार्वजनिक गरेको छ ।
कार्यक्रममा संस्थाका अध्यक्ष सूदन गुरुङले भने सम्पूर्ण दाता र स्वयंसेवकलाई आभार प्रकट गर्दै संस्थाले अगाडि बढ्न र केही गर्न चाहने युवाको जोश र सपनालाई विश्वास गर्ने बताए । ‘हामी उनीहरूका लागि एक प्ल्याटफर्म बन्न चाहन्छौं । संस्थाको उद्देश्य अरूको बारेमा सोच्ने र एक–अर्कासँग हातेमालो गर्दै समाजमा सकारात्मक प्रभाव ल्याउने हो,’ उनले भने, ‘हामी यस्तो परिवर्तन गर्न चाहन्छौं, जुन पहिलेभन्दा धेरै आवश्यक छ । संस्थाले कोही नभएकाहरूका लागि आवाज दिन्छ ।’
आधिकारिक वेबसाइट सार्वजनिक भएसँगै संस्था थप विश्वसनीय हुने र यसले सबै दाताहरूलाई सहयोग रकमको हिसाब–किताब राख्न सजिलो हुने उनले बताए । साथै यसले सहयोगी दाता र सहयोग चाहिनेहरूलाई प्रत्यक्ष रूपमा जोडिन पनि मद्दत पुग्ने विश्वास उनले व्यक्त गरे । हामी नेपाल ‘जनताद्वारा जनताका लागि’ भन्ने सन्देशसहित सामाजिक क्रियाकलाप सक्रिय रहँदै आएको छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।






