काठमाण्डौ – प्रधानमन्त्री शेरबहादुर देउवाले लक्षित समूहलाई कोरोनाविरुद्धको खोप लगाउन घरदैलो अभियान सञ्चालन गर्न मुख्यमन्त्रीहरुलाई आग्रह गरेका छन् । सोमवार प्रधानमन्त्री देउवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्रीहरूसँग छलफल गर्दै लक्षित समूहलाई कोरोनाविरुद्धको खोपमा पहुँच पुर्याउनका लागि घरदैलो अभियान सञ्चालन गर्न मुख्यमन्त्रीहरूलाई आग्रह गरेका हुन् ।
सरकार सबै नेपालीलाई खोप दिन तयार रहेको र खोपको अभाव नरहेको भन्दै प्रधानमन्त्री देउवाले खोप अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले जानकारी दिएका छन् । मन्त्री खतिवडाले पुस महिनाभित्रमै खोप लगाउनेहरूको प्रतिशतमा वृद्धि हुने विश्वास पनि व्यक्त गरे ।
उनले भने, ‘हाम्रो आह्वान भनेको सरकार सबै नेपालीलाई खोप दिन तयार छ । खोप हामीसँग छ । खोपको अभाव छैन, सबैले लगाइदिनुस् । घरदैलो अभियान चलाएर भए पनि हामीले लक्षित समूह सबैलाई खोप लगाउनुपर्छ भनेर प्रधानमन्त्रीले आह्वान गर्नुभयो । पुस महिनाभित्रमा अहिले जुन प्रतिशतको जनसङ्ख्याले खोप लगाएका छन्, त्योभन्दा धेरै प्रतिशतले खोप लगाउनुहुन्छ भन्ने मैले विश्वास लिएको छु ।’
खोप केन्द्र वृद्धि गर्नुपर्ने र तीनै तहको सरकारका साथसाथै जिल्ला प्रशासन कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालय, विभिन्न सङ्घ–संस्था, क्लबको समेत सहयोग लिएर कोरोनाविरुद्धको अभियानमा लाग्नुपर्नेमा छलफलमा जोड दिइएको पनि मन्त्री खतिवडाले बताए । खतिवडाले अहिले १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरूलाई खोप लगाइरहेकोमा गैरविद्यार्थीहरूले पनि सम्बन्धित पालिका वा वडाको सिफारिसमा सम्बन्धित खोप केन्द्रमा गएर खोप लगाउन सकिने जानकारी दिए ।






