काठमाण्डौ । नेकपा एमालेका नेता भीम रावलले पार्टीले आफूलाई केन्द्रीय सल्लाहकार परिषद्को सदस्य बनाएकोमा आपत्ति जनाएका छन् । अध्यक्ष पदमा पराजित भएका उनले विधान वमोजिम पाउने केन्द्रीय सदस्य पद पनि अस्वीकार गरेका थिए । केन्द्रीय कमिटी बैठकले उनलाई पार्टीका अन्य कुनै संरचनामा राखेन । तर केन्द्रीय सल्लाहकार परिषदको सदस्य बनाएको प्रति भने उनले आपत्ती जनाएका छन् ।
उनले सामाजिक सञ्जालमा लेख्दै आफूलाई नसोधी कुनै पनि पदमा टीका लगाइदिएको भन्दै उनले आपत्ति जनाएका हुन् । उनले लेखेका छन्, ‘मलाई नेकपा (एमाले) को केन्द्रीय सल्लाहकार परिषद्को सदस्य बनाइएको समाचार सुनियो । यो सत्य हो भने, मलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक छ। यस्तो टीके प्रणाली जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताको विपरीत हुन्छ ।’
एमालेको दशौं महाधिवेशनमा उनले अध्यक्ष पदको लागि केपी शर्मा ओलीविरूद्ध उम्मेदवारी दिएका थिए । अध्यक्षको उम्मेदवार भए पनि केन्द्रीय सदस्य पनि उम्मेदवार बन्न मिल्ने पार्टीको व्यवस्थामा रावलले रूचि नदेखाएपछि उनलाई सल्लाहकारमा राखिएको एमालेका महासचिव शङ्कर पोखरेलले बताएका थिए ।






