नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयन गर्नका लागि भएको मतदानको मतगणना सुरु भएको छ । शुरुवाती २ सय ५० मत गन्दा सभापति शेरबहादुर देउवाले अग्रता बनाउन सफल भएका छन् । देउवाले १३२ मत प्राप्त गर्दै अग्रता बनाएका हुन् ।
त्यस्तै सभापतिका अर्का प्रत्यासी शेखर कोइरालाले ८१, विमलेन्द्र निधिले १२, प्रकाशमान सिंहले २२ र कल्याण गुरुङले १ मत ल्याएका छन् । नेपाली काँग्रेसको सभापति पदमा विजयी हासिल गर्न २३४० मत ल्याउनु पर्ने भएको छ । राष्ट्रिय सभागृहमा मंगलबार बिहानदेखि सभापतिका पदको मतगणना सुरु भएको छ ।
सोमबार राति साढे ११ बजेसम्म भएको मतदानमा ४ हजार ६७९ मत खसेको थियो । मतगणनामा सभापतिका कुनैपनि उम्मेदवारले २३४० भन्दा कम मत ल्याएमा शीर्ष मत ल्याउने दुई उम्मेदवारबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुनेछ ।
कुल ४ हजार ७४३ प्रतिनिधि भएको काँग्रेसमा ४ हजार ६७९ मत खसेको निर्वाचन समितिले जनाएको छ । काँग्रेस सभापतिको उम्मेदवारमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ रहेका छन् ।






