काठमाण्डौ । दक्षिण एसियाको ठूलो फुटबल प्रतियोगिता मानिने साफ फुटबल प्रतियोगितामा नेपाली टोलीलाई पहिलो पटक फाइनल पुर्याएका प्रशिक्षक अबदुल्लाह अलमुताइरी र अखिल नेपाल फुटबल सङ्घ (एन्फा) बीच सन् २०२४ सम्मका लागि सम्झौता भएको छ ।
नेपाल फर्किएपछि पहिलो पटक अब्दुल्लाह आज मङ्गलवार आफैँले आह्वान गरेको पत्रकार सम्मेलनमा नेपाली राष्ट्रिय फुटबल टोलीका व्यवस्थापक मधुसूदन उपाध्याय र अलमुताइरीबीच नेपालको जर्सीसहित २०२४ सम्मका लागि औपचारिक सम्झौता भएको हो ।
साफ च्याम्पियनशिप अघि नेपाल नफर्किने भन्दै छाडेका प्रशिक्षक अलमुताइरी सहमति भएपछि नेपाल फर्किएका हुन् । आज भएको पत्रकार सम्मेलनमार्फत उनी आउँदो तीन वर्षको योजनासहित सार्वजनिक भए ।

साफ अघि नेपालमै रहँदा पनि एन्फाका उपाध्यक्षसँगको विवादपछि राजीनामा दिने घोषणा गरेका अबदुल्लाह अलमुताइरी गएको हप्ता कतार फुटबलसँगको सम्झौतापछि नेपाल फर्किएका हुन् । नेपाली राष्ट्रिय टोलीसँगको नयाँ सम्झैतापछि आफू खुसी भएको बताउँदै अबदुल्लाहले नेपाली समर्थक र खेलाडीको मायाले नेपाल फर्किएको बताए ।
अलमुताइरीले प्राप्त गर्ने तलब कतार फुटबल सङ्घले उपलब्ध गराउनेछ । एन्फाले नेपाल बस्ने क्रममा यातायात र सञ्चारका केही रकम दिँदै आएको छ । तीन चरणमा काम गर्ने योजना सार्वजनिक गरेका अलमुताइरीले सुरुवाती पहिलो चरणको एसिया कप छनोटका कार्यक्रम मात्र सार्वजनिक गरेका छन् ।
जसअन्तर्गत राष्ट्रिय टोलीको प्रशिक्षक र मैत्रीपूर्ण फुटबल खेलको तालिका योजनामा रहेका हुन् । यस्तै विश्व कप छनोट २०२६ र एसिया कप छनोट २०२७ लाई लक्षित गरेर तीन वर्षको सम्झौता गरिएको छ ।






