काठमाण्डौ । सर्वोच्च अदालतमा प्रधानन्यायाधीशले मु द्दाको पेसी तोक्ने, अरू न्यायाधीश इजलासमा नबस्ने क्रम चलिरहेको छ । यो सिलसिला चलेको चार दिन भयो । इजलास बहिष्कारको ‘नजिर’ भने आफू न्यायाधीश हुँदा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नै बसालेका थिए ।
विगतमा आफूलाई साथ दिएका सहकर्मीसम्मले अहिले प्रधानन्यायाधीश जबराको आदेशको अवज्ञा गरिरहेका छन् । जबराले त्यस बेला अनपाएको उपाय यस बेला अर्को संस्करण बनेर आफूविरुद्ध नै प्रयोग भइरहेको छ । तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीले बिहान १० बजे इजलास तोके ।
पराजुलीसँग असन्तुष्ट रहेका तत्कालीन न्यायाधीश जबरा समयमै सर्वोच्च पुगे । तर, इजलासमा बसेनन् । उनीसहित न्यायाधीशले मध्याह्न १२ बजेसम्म मुद्दाको सुनुवाइ गरेनन् । पराजुलीले तत्कालीन न्यायाधीश तेजबहादुर केसीसँगको पूर्ण इजलासमा बसेर मुद्दा हेर्न थाले ।
त्यसपछि मीरा खड्का र बमकुमार श्रेष्ठ, शारदा घिमिरे र पुरुषोत्तम भण्डारी, केदारप्रसाद चालिसे र शारदा घिमिरे, दीपककुमार कार्की र टंकबहादुर मोक्तान, ओमप्रकाश मिश्र र डम्बरबहादुर शाहीको इजलास बस्यो । १९ न्यायाधीशमध्ये १० जनाले पराजुलीमाथि उठेका प्रश्नलाई बेवास्ता गर्दै साथ दिए ।
जबरासहित आठ जनाले न्यायसम्पादन गर्न अस्वीकार गरे । जबकि उनी प्रधानन्यायाधीशको रोलक्रममा थिए । उनले पराजुलीका विषयमा गम्भीर प्रश्न उठेको बताएका थिए । वरिष्ठतम न्यायाधीश एवं न्यायपरिषद्का सदस्य दीपकराज जोशी तथा न्यायाधीशहरू हरिकृष्ण कार्की,
विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा, प्रकाशमान सिंह राउत र सपना प्रधान मल्लले पराजुलीको नेतृत्वमा न्याय निरूपण गर्न नसकिने निष्कर्षका साथ इजलासमा पस्न अस्वीकार गरेका थिए । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।






