काठमाण्डौ । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले एन्फासँग तीन वर्षको सम्झौता गरेका छन् । बुधबार प्रशिक्षक अलमुताइरीले सामाजिक सञ्जालमार्फत अखिल नेपाल फुटबल संघ (एन्फा), एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र कतार फुटबल संघलाई मेन्सन गर्दै सम्झौता नवीकरण गरेको बताएका छन् ।
साफ च्याम्पियनसिप इतिहासमा पहिलोपटक नेपाललाई फाइनल पुर्याएका अब्दुल्लाहले लेखेका छन्,‘डियर फ्यान नयाँ सम्झौता गर्ने निर्णय गरेको छु । एन्फा र कतार फुटबल संघलाई धन्यवाद दिन चाहन्छु ।’ उनले लेखेका छन् । अलमुताइरीले दुई वर्षको योजना र लक्ष्य सार्वजनिक गर्ने बताएका छन् । ‘हामी चाँडै आगामी दुई वर्षको लक्ष्य र योजना सार्वजनिक गर्नेछौं ।’
नेपाल फाइनलमा भारतसँग पराजित हुँदै उपविजेतामा सिमित भएको थियो । फाइनलअघि नै राजीनामा दिएका अब्दुल्लाह नेपाल नफर्की कतारमै रहेका छन् । यद्यपि एन्फाले यस विषयमा कुनै पनि आधिकारिक धारणा भने राखेको छैन । उनले छिट्टै नै आफ्नो दुई वर्षको लक्ष्य र योजनाको बारेमा जानकारी दिने बताएका छन् ।
नेपाली फुटबललाई राम्रो बनाउनका लागि आफू लाग्ने बताउँदै त्यसका लागि केही समय दिनपनि उनले आग्रह गरेका छन् । उनले नेपाली फुटबल फ्यानहरूलाई आफूप्रति देखाएको सद्भाव र मायाको लागि धन्यवाद दिँदै आगामी दिनमा पनि सधैं मुटुमा राख्न आग्रह गरेका छन् । उनले नेपाली टीमलार्ई सधैं सहयोग, सद्भाव र माया गर्न आग्रह गर्दै सबैलाई धन्यवाद दिएका छन् ।
साफ च्याम्पियनसिपपछि मुख्य प्रशिक्षकबाट राजीनामा दिएर नेपाल कहिल्यै नफर्किने घोषणा गरेका गरेका उनले पुनः सम्झौता गरेका हुन् । उनले गरेको यस्तो निर्णयको नेपाली फुटबल प्रेमी र उनका फ्यान भएका सबै नेपालीहरुले सामाजिक सञ्जालमै उनलाई स्वागत गरेका छन् ।






