एजेन्सी । भारतले पाकिस्तानसँग क्रिकेट खेलमा पहिलो हार ब्यहोरेको छ । ओपनर बाबर आजम र मोहम्मद रिजवानको कीर्तिमानी साझेदारीको सहयोगमा पाकिस्तानले आइसिसी टि२० विश्वकपमा भारतमाथि ऐतिहासिक जित हात पारेको हो ।
आइसिसी टि२० विश्वकप २०२१ को सुपर १२ को समूह बी मा रहेको पाकिस्तानले भारतलाई १० विकेटले पराजित गर्दै सानदार विजयी सुरुवात गरेको छ । पाकिस्तानले भारतलाई कुनैपनि विश्वकपमा पहिलो पटक पराजित गरेको हो । जितको लागि १ सय ५२ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले १७।५ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो ।
पाकिस्तानको जितमा कप्तान बाबर आजम ५२ बलमा ६ चौका र २ छक्का सहित ६८ रनमा अविजित रहे । अर्का ओपनर मोहम्मद रिजवान ५५ बलमा ६ चौका र ३ छक्का सहित ७९ रनमा अविजित रहे । रिजवानले जस्प्रित बुमराहलाई चौकाद्धारा ४१ बलमा अर्धशतक पूरा गरेका थिए ।

बाबरले स्पिनर बरुण चक्रवर्तीलाई छक्का द्धारा ४० बलमा अर्धशतक पूरा गरेका थिए । बाबर र रिजवानले टि२० विश्वकपमा नयाँ कीर्तिमान पनि बनाएका छन् । पहिलो विकेटका लागि यो विश्वकपमा भएको उच्च साझेदारी हो । यसअघि सन् २००७ को विश्वकपमा मा क्रिस गेल र डेवन स्मिथले १ सय ४५ रनको साझेदारी गरेका थिए ।
त्यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५१ रन बनाएको थियो । भारतका कप्तान विराट कोहलीले ४९ बलमा ५ चौका र १ छक्का सहित सर्वाधिक ५७ रन बनाए । कोहलीले ४५ बलमा आफ्नो अर्धशतक पूरा गरेका थिए ।
टि२० विश्वकपमा कोहलीको यो १० औं अर्धशतक हो । कोहलीको टि२० आई करिअरको २९ औं अर्धशतक हो । युवा तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीले पहिलो ओभरको चौथो बलमा ओपनर रोहित शर्मालाई शून्यमा एलबीडब्लू आउट गर्दै पाकिस्तानलाई पहिलो सफलता दिलाएका थिए ।
रोहित आफूले सामना गरेको पहिलो बलमै अर्थात गोल्डेन डक आउट भएका थिए । अफ्रिदीलेनै तेस्रो ओभरको पहिलो बलमा अर्का ओपनर लोकेश राहुल केएल लाई ३ रनमा बोल्ड आउट गरेपछि पाकिस्तानले सानदार सुरुवात गरेको थियो ।






