काठमाण्डौ । अमेरिकामा फाइजरले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई कोरोना भाइरस विरुद्धको खोपको आपत्कालीन प्रयोगका लागि अनुमति मागेको छ । खोप निर्माता कम्पनी फाइजरले आफूले ५ देखि ११ वर्ष उमेरका बालबालिकाको लागि उत्पादन गरेको खोप प्रभावकारी रहेको दाबी गरेको छ ।
कम्पनीले आपत्कालीन प्रयोगका लागि अमेरिकाको खाद्य एवं औषधि प्रशासन (एफडीए)सँग अनुमति मागेको हो । फाइजरका वरिष्ठ उपाध्यक्ष डाक्टर बिल ग्रबरले दोस्रो डोज खोप लगाइसकेपछि पाँच देखि ११ वर्ष उमेर समूहका बालबालिकामा कोरोनासँग लड्न सक्ने एन्टीबडीको विकास भएको बताएका छन् ।
उनले खोप सुरक्षित भएको दाबी समेत गरेका छन् । यो भन्दा पहिला उत्पादन गरेको फाइजरको जर्मन बायोएनटेकसँग मिलेर बनाएको खोप १२ वर्षमाथि उमेर समूहका लागि प्रभावकारी देखिएको छ ।
अमेरिकाको खाद्य एवं औषधि प्रशासन (एफडीए) को सल्लाहकार समितिले ६५ वर्षभन्दा धेरै उमेर समूहकालाई फाइजरको बुस्टर डोज लगाउन पनि यो भन्दा अगाडि नै मञ्जुरी दिएको थियो ।






