एजेन्सी । पाकिस्तानको दक्षिणी बलोचिस्तान प्रान्तमा भूकम्प जाँदा कम्तीमा १८ जनाको ज्यान गएको अधिकारीहरूले जनाएका छन् । विपद् व्यवस्थापनसम्बन्धी अधिकारीहरूका अनुसार मृतकको सङ्ख्या बढ्न सक्छ ।
भूकम्पपछि क्वेटा शहरका मानिसहरू सडकमा निस्केको सामाजिक सञ्जालमा राखिएका तस्वीरमा देखिन्छ । प्रारम्भिक रिपोर्टहरूका अनुसार ५.७ म्याग्निच्युडको भूकम्प गएको अनुमान छ ।
भूकम्पका कारण घरहरू भत्कँदा च्यापिएर मानिसहरूको ज्यान गएको एक अधिकारीले बताए । स्थानीय जीओ टेलिभिजनले जनाएअनुसार करिब ५० जना घाइते भएका छन् । तीमध्ये कतिपयको गम्भीर अवस्थामा अस्पतालमा उपचार भइरहेको छ ।






