काठमाडौ । सेयर बजारमा सुधारको संकेत देखिएको छ । तीन दिनसम्म लगातार ओरालो लागेको सेयर बजारको परिसूचक नेप्से ५०।५८ अंकले बढेको छ । पछिल्लो वृद्धिसँगै परिसूचक २६ सय ६५ अंकमा पुगेको छ । सबै समूहको परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ ।
मंगलबार ५ अर्ब ७४ करोड रुपैयाँको सेयर किनबेच भएकोमा आज ५ अर्ब २ करोडमा सीमित भएको छ । आज ९८ लाख ९४ हजार कित्ता धितोपत्र कारोबार भयो । बैंकिङ २०, विकास बैंक १५०, फाइनान्स १०७, होटल तथा पर्यटन ३२, जलविद्युत ११७, लगानी २, जीवन बीमा २१५ र उत्पादन समूह १०३ अंकले बढे ।
त्यस्तै माइक्रोफाइनान्स समूह ८८, निर्जीवन बीमा २५५, अन्य ४१ र ब्यापार समूह ७५ अंकले बढेका छन् । कुल १७३ कम्पनीको मूल्य बढ्यो भने ११ कम्पनीको मूल्य घटेको छ । त्यस्तै २ कम्पनीको मूल्य स्थीर रह्यो ।
भदौ २ गतेयता लगातार गिरावट आएको सेयर बजारमा एकाधबाहेकका अधिकांश कम्पनीमा नोक्सानी बेहोरेकोमा बजार हरियाली भएपछि लगानीकर्ता उत्साहित भएका छन् । भदौ २ गते नेप्सेले कीर्तिमानी ३१ सय ९८ अंक कायम गरेपछि ऋण खोजेर लगानी गरेका लगानीकर्ता निराश थिए ।






