काठमाडौ । कुनै पनि राष्ट्रसेवक पत्नीले पतिको निधनपछि जीवनभर पतिको नामको पेन्सन पाउने व्यवस्था भए पनि राष्ट्रकवि माधवप्रसाद घिमिरे पत्नी महाकाली घिमिरेले भने पतिको निधनपछि भत्ता पाएकी छैनन् ।
गत वर्ष भदौमा राष्ट्रकवि घिमिरेको निधन भएपछि त्यही महिना राष्ट्रकवि र प्रज्ञा प्रतिष्ठानको आजीवन सदस्यका रूपमा पाएको ६५ हजार रुपैयाँपछि अन्य कुनै रकम नपाएको राष्ट्रकवि पत्नी महाकाली घिमिरेले गुनासो गरिन् ।
‘सरकारी जागिर खाएको भए पेन्सन पाइन्थ्यो । यत्रो समय राष्ट्रको सेवा नै गरेकाले दिनुपर्ने हो, दिएनन्’, उनले दुखेसो पोख्दै भनिन्, ‘पूरै दिएनन्, सबै कट्टी गरे।’ सरकारले जानेर दिनुपर्ने कुरा हो, दिएन । अरु के भन्नु र खै ?’ आफ्नो छोराछोरीलगायतका परिवारका सदस्यलाई माग्ने काम कतै नगर भनेर भनिदिएको पनि उनले बताइन् ।
उमेरले झन्डै ८७ पुगिसकेकी महाकालीलाई बुढ्यौलीले धेरै च्यापिसकेको छ । शरीरमा सुगर, प्रेसर, थाइराइडलगायतका रोग छन् । ‘८६र८७ वर्ष भइसकें। हुन त कति वर्ष खाने हो र ?’, उनले चित्त दुखाउँदै भनिन्, ‘मानले केही पाए राम्रो हुन्थ्यो ।’ अन्नपुर्णपोष्टमा रामकला खड्काले लेखेकी छन् ।






