एजेन्सी । टोकियो ओलम्पिकको ११औं दिन सम्म चीनले पदक तालिकामा अग्रता कायम राखेको छ । आज पदक थप्दै ३२ स्वर्णका साथ चीन पहिलो स्थानमा छ । अमेरिका २४ स्वर्णका साथ दोस्रो र जापान १९ स्वणृका साथ तेस्रो स्थानमा छ ।
यसैगरी, ओलम्पिक पुरुष फुटबलमा ब्राजिल र स्पेन फाइनलमा पुगेका छन् । ब्राजिलले मेक्सिको र स्पेनले आयोजक जापानलाई प्रतिष्पर्धात्मक खेलमा पराजित गर्दै फाइनलको यात्रा तय गरेका हुन् ।
यो पनि पढौं
हिउँ जमिरहने धौलिगाडको पानी अन्तर्राष्ट्रिय बजारमा पुर्याउन सकिन्छ
जुम्ला । हिमाली क्षेत्रको सबैभन्दा ठूलो आयोजना धौलिगाडबाट निस्कने खानेपानी व्यापारिक हिसाबले पनि निकै उत्कृष्ट हुने विज्ञहरूले बताएका छन् । हिउँ जमिरहने धौलिगाडको पानीलाई अन्तर्राष्ट्रिय ब्रान्डका रूपमा तयार गर्न विज्ञहरूले सुझाव दिएका हुन् ।
आयोजनाको टेन्डर भएर अगाडि बढेपछि जुम्लामा स्थानीय सरोकारवालासँगको छलफलका लागि जुम्ला पुगेको खानेपानी तथा ढल निकास विभागका उपमहानिर्देशक सूर्यराज कँडेल, जलवायु अनुकूलन खानेपानी आयोजना प्रमुख अरुण सिम्खडा, आयोजना परामर्शदाता केशवलाल शाक्यसहितको टोलीले यस्तो सुझाव दिएको हो ।
समुद्र सतहबाट झन्डै चार हजार मिटर उचाइ अर्थात् ६ महिना हिउँ जम्ने धौलिगाडबाट जुम्लाको सदरमुकाम खलङ्गासहित चन्दननाथ नगरपालिका, गुठीचौर गाउँपालिका र तातोपानी गाउँपालिकाका आठ हजार ६ सय घरधुरीमा खानेपानी पुर्याइने लक्ष्य लिइएको छ ।
यस आयोजनाको दिगोपनाका विषयमा सुझाव दिँदै उपमहानिर्देशक कँडेलले एकातिर नागरिकले अपनत्व लिने र अर्कोतिर अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्न सकिने उपमहानिर्देशक कँडेलले जानकारी दिए ।
उनले धौलिगाड आयोजना जुम्लावासीको लागि मात्रै नभइ नेपालकै गौरवको विषय भएकाले यसलाई तीन वर्षमै निर्माण गर्ने गरी काम गर्ने प्रतिबद्धता जर्नाए ।
छ महिना हिउँ जमिरहने ठाउँबाट कसरी पानी झार्ने र निरन्तरता दिने भन्ने विषयमा भने खानेपानी विज्ञहरूले विशिष्ट प्रविधिको प्रयोग गर्ने बताएको छ ।
हिउँ भइरहेपछि पानी ल्याउन कठिन हुने भएकाले यो आयोजनालाई जसरी पनि निरन्तरता दिने विषयमा छलफलपछि डीपीआर बनिरहेको उपमहानिर्देशक कँडेलले बताए ।
धौलिगाड खानेपानी आयोजनामा ६ महिना हिउँ जम्ने भएकाले यसलाई सफल पार्नेमा विभाग र आयोजनाको टोली लागेको उहाँको भनाइ छ । विभागका अनुसार हिमाली क्षेत्र रसुवा र कास्कीमा पनी यस्ता आयोजना सुरु गरिएको छ तर धौलिगाड हिमाली क्षेत्रको सबैभन्दा ठूलो आयोजना हो ।
अन्तरक्रियामा नागरिक समाजका अध्यक्ष राजबहादुर महतले आयोजना टेन्डरमा गएपछि जुम्ली नागरिकको शरीरमा घाम लागे जस्तै सुरु भएको र आयोजना चाँडै बनाउन विभागलाई अनुरोध गरेका छन् ।
जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले धौलिगाड जुम्ली नागरिकको सपनाको परियोजना भएकाले सम्पन्न गर्न सबैको सहयोग भएको भन्दै चाँडै बोर्ड गठन प्रक्रिया अगाडि बढाउन अनुरोध गरेका छन् । चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालले निकै कष्टका साथ आयोजना अगाडि बढेकाले सफल बनाउन नगरपालिका प्रतिबद्ध रहेको बताए ।
गुठीचौर गाउँपालिकाका अध्यक्ष हरिबहादुर भण्डारीले १२ वर्ष पहिले तत्कालीन संविधान सभा सदस्य नरेश भण्डारीले कल्पना गरेको परियोजना सफल पार्न जुटिरहेको र पालिकाले एक प्रतिशत बजेटसमेत जम्मा गरिसकेको जानकारी दिए ।
विभागले परियोजनाका लागि अर्थ मन्त्रालयबाट एक अर्ब २६ करोड रुपैयाँ स्वीकृत भइसकेकाले बजेटको अभाव नहुने बताएको छ । विभागका जलवायु अनुकूलन आयोजना प्रमुख अरुण सिम्खडाले अहिलेका खानेपानी आयोजनाका परम्परागत मूल सुक्ने भएकाले धौलिगाडसहितका आयोजनामा भने मूल नसुक्ने तरिकाले काम भइरहेको बताए ।






