काठमाण्डौ । कोरोनाको यो दोश्रो लहरले गाउँघरलाई पनि अछुतो राखेको छैन । पहिलो लहरमा शहरको तुलनामा गाउँघर कोरोनाबाट सुरक्षित मानिएको थियो भने दोश्रो लहरमा गाउँघर नै कोरोनाको संक्रमणबाट ग्रसित बन्दै गई रहेको छ । पछिल्लो समयमा शहर बजारमा मात्र नभइ ग्रामीण क्षेत्रमा पनि कोरोना भाइरसको सङ्क्रमण फैलिँदै गएको छ । शहर, बजारमा निषेधाज्ञा लागे पनि गाउँघरमा यो लागू नहुनु, विभिन्न सामाजिक कार्यक्रम नरोकिनु, मानिसको ओहोरदोहोर भइरहनु लगायतका कारण गाउँघरमा कोरोना भाइरसको सङ्क्रमण फैलिँदो छ ।
कोरोना सङ्क्रमणले भयावह रूप लिँदा पनि गाउँघरमा विवाह, व्रतबन्ध, पूजाआजा लगायतका गतिविधिमा स्वास्थ्य मापदण्ड उल्लङ्घन गर्दै सहभागी हुने क्रमले पनि सङ्क्रमण फैलिँदै गएको छ । गाउँघरमा फैलिएको सङ्क्रमण कसरी रोकथाम गर्न सकिन्छ त ? डाक्टर विराज कर्माचार्य भन्छन्,एक गाउँबाट अर्को गाउँमा हुने मानिसको ओहोरदोहोर बन्द गर्ने, एउटै गाउँका स्थानीयवासिन्दाले पनि एक आपसमा धेरै हेलमेल नगर्ने ।
यस्तै हरेक गाउँमा आइसोलेशन र क्वरेण्टीन बनाउने गरे पनि सङ्क्रमणको रोकथाम गर्न सकिन्छ । यस्तै सङ्क्रमण रोकथामका लागि सामूहिक रूपमा परीक्षण गर्न सकिन्छ तर धेरै जनाको परीक्षण गर्न सम्भव छैन भने सङ्क्रमणको जोखिममा रहेका व्यक्ति वा जोखिमयुक्त सहर, बजारबाट गएकाहरूको स्वास्थ्य परीक्षण गर्नुपर्ने डाक्टर विराज कर्माचार्य बताउँछन् ।
उनका अनुसार परिवारका एक सदस्यको परीक्षण गराउँदा पनि सङ्क्रमण फैलिएको दर पत्ता लगाउन सकिन्छ । यति कुरामा ध्यान दिन सके मात्रै पनि ८५ प्रतिशत थप सङ्क्रमण फैलिनबाट जोगाउन सकिने डाक्टर कर्माचार्यको भनाइ छ । यस्तै सङ्क्रमण भइहाले पनि नआत्तिकन स्वास्थ्यको ख्याल गर्नुपर्ने उनी बताउँछन् । सङ्क्रमण हुँदैमा ठूला–ठूला अस्पतालमा लैजानु पर्दछ भन्ने छैन ।
तर पाँच दिनभन्दा बढी समयसम्म ज्वरो आए प्राथमिक स्वास्थ्य केन्द्र र जिल्ला अस्पतालमा पनि उपचार गर्न सकिन्छ । अन्यत्रै रेफर गर्नुपर्ने खालका बिरामी भएमा भने सम्बन्धित पालिका र सरोकारवालाले एम्बुलेन्सको व्यवस्था गर्नुपर्नेछ । यस्तै सङ्क्रमितको स्वास्थ्यबारे फोनमार्फत पनि नियमित निगरानी गर्न सकिन्छ । रगतमा अक्सिजनको मात्रा घटेरनघटेको हेरेर आफन्तले बिरामीको ख्याल गर्नुपर्नेमा डाक्टरले जोड दिएका छन् ।






