काठमाण्डौ । काठमाडौ उपत्यकामा जारी गरिएको निषेधाज्ञामा आजदेखि थप कडाई गरिने भएको छ । कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि उपत्यकाका ३ जिल्लामा गरिएको निषेधाज्ञालाई प्रभावकारी बनाउन थप कडाई गर्न लागिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।
यसका लागि ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बसेर निर्णय गरिने उनको भनाइ छ । शनिवार काठमाडौंका सडकमा अनुगमन गर्न निस्केको प्रमुख जिल्ला अधिकारीको टोलीले निषेधाज्ञा प्रभावकारी रहेको निष्कर्ष निकालेको छ ।
बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय सञ्चालन गर्दा सडकमा गाडी र मान्छे बढेकोले आइतबारदेखि जारी निषेधाज्ञामा थप कडाई गर्ने प्रमुख जिल्ला अधिकारी पराजुलीले रातोपाटीलाई जानकारी दिए । उनले शनिवार सडकमा गाडी कम भएपनि बैंक तथा वित्तीय संस्था सञ्चालन हुँदा सडकमा सवारी चाप बढेको पाइएकाले आजदेखि थप कडा गर्ने बताए ।
उनले सरकारी कर्मचारी संख्या कटौती गर्ने र गाडी कम चलाउन लगाउने समेत जानकारी दिए । शनिवार तथा सार्वजनिक बिदाको दिन सरकारी सवारीसाधन गुडे त्यसलाई होल्ड गरिने पनि उनले बताए । कोरोना रोकथाम तथा नियन्त्रण केन्द्रीय व्यवस्थापन तथा समन्वय केन्द्र (सिसिएमसी) ले अत्यावश्यक सेवाबाहेक अन्य कार्यालय एक चौथाइ कर्मचारीद्वारा सञ्चालन गराउने निर्णय गरेको छ ।.
केन्द्रको शनिबार सम्पन्न बैठकका निर्णयमा निषेधाज्ञा जारी भएका काठमाडौँ उपत्यका र ठूला शहरमा बैंक तथा वित्तीय संस्थाका एक चौथाइ शाखामा एक चौथाइ कर्मचारी राखी सञ्चालन गराउने भनिएको छ । उक्त कार्यका लागि नेपाल राष्ट्र बैंकले सहजीकरण गर्नेछ ।
काठमाडौंँ उपत्यकाका हकमा सूचना तथा प्रसारण विभागबाट र अन्य जिल्लाका हकमा प्रमुख जिल्ला अधिकारीले जारी गरेको प्रेस पास मान्य हुने, व्यवसाय र उद्योगमा कर्मचारी एवं श्रमिकलाई उद्योगभित्रै बास तथा खानाको व्यवस्था गरी उद्योग व्यवसाय सञ्चालन गर्ने, कोभिड–१९ को रोकथाम, नियन्त्रण र
उपचारका लागि आवश्यक सामग्री (मास्क, स्यानिटाइजर, साबुन, पञ्जा, अक्सिजन आदि) उत्पादन गर्ने उद्योग, कलकारखाना स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्ने, सार्वजनिक निर्माणमा संलग्न श्रमिकलाई कार्यस्थलमै बास र खानाको व्यवस्था गरी सार्वजनिक निर्माण गरिराख्ने निर्णय पनि गरिएको छ ।






