बुटवल । निषेधाज्ञा उल्लंघन गरेको आरोपमा प्रहरीले रुपन्देहीमा तीन जनालाई पक्राउ गरी एक महिनाका लागि कारागार चलान गरेको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट जारी भएको निषेधाज्ञाको अवज्ञा र प्रहरीसँग विवाद गरेको भन्दै प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएकोमा प्रतिव्यक्ति नौ हजार एक सय रुपैयाँ जरिवाना तिर्न नसकेका तीनजना कारागार चलान भएका हुन् ।
कोरोना रोकथामका लागि त्यहाँ जिल्ला प्रशासनबाट जारी निषेधाज्ञा अटेर गरेको र उल्टै प्रहरीसँग निहुँ खोजेको आरोपमा ३ जनालाई संक्रामक रोग ऐन २०२०, दफा ३ उपदफा ९२० बमोजिम एक महिनाका लागि जेल पठाइएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार निषेधाज्ञा उल्लंघन गर्ने ८ जनालाई नियन्त्रणमा लिइएको थियो र सबैलाई जनही ९ हजार १ सय रुपैयाँ जरिवाना तिर्न भनिएको थियो । तर तीमध्ये ३ जनाले जरिवाना तिर्न नसकेपछि उनीहरूलाई एक महिनाका लागि कारागार पठाइएको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बिहीबार निषेधाज्ञा उल्लंघन गर्ने ८ जनालाई कैद सजाय गरेको थियो । तीमध्ये ५ जनाले जरिवाना बुझाएर छुटेका थिए । बाँकी ३ जनाले जरिवाना बुझाउन नसको कारागार चलान भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । उनीहरूमध्ये ७ जना पुरुषलाई एक महिना कैद वा जनही ९ हजार १ सय जरिवाना तोकिएको थियो ।
त्यस्तै एक महिलालाई भने ६ सय जरिवाना तोकिएको थियो । ४ जना पुरुष र १ महिला गरी ५ जनाले कैद र जरिवाना वापतको रकम दाखिला गरेका कारण छोडिएको र अन्य ३ जनाले सो बराबरको जरिवाना रकम तिर्न नसकी कारागार चलान भएको हो । प्रहरीका अनुसार जिल्लाका सिद्धार्थनगर नगरपालिका–८ का २८ वर्षीय श्याम दुबे, मायादेवी गाउँपालिका–४ का २७ वर्षीय दिनेश यादव सोही गाउँपालिकाकै वडा नम्बर २ का ३४ वर्षीय महेन्द्र कोहारलाई कारागार पठाइएको हो ।






