काठमाण्डौ । काठमाण्डौ उपत्यकामा बिहीवारदेखि १५ दिनसम्म निषेधाज्ञा लागू हुने भएपछि घर फर्कने यात्रुको सङ्ख्या बढेको छ । काठमाण्डौ जोड्ने मुख्य नाका नागढुङ्गाबाट पछिल्लो २४ घण्टामा मात्रै ५० हजारभन्दा धेरै यात्रु बाहिरिएका ट्राफिक प्रहरीले जनाएको छ ।
पछिल्ला दुई, तीन दिनमा दुई लाखभन्दा धेरै यात्रु काठमाण्डौ उपत्यकाबाट बाहिरिएका यातायात व्यवसायीले बताएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले आज झन् धेरै चाप बढेको बताए ।
यात्रुको सङ्ख्या बढेकाले बिहानैदेखि सडक अस्तव्यस्त बनेको छ । यात्रुले टिकट पाएका छैनन् । निषेधाज्ञा लम्बिने आशङ्कामा काठमाण्डौबाट बाहिरिनेको सङ्ख्या बढेको हो । ‘यात्रुहरू बिहानदेखि बसपार्कमा आएर बस्नु भएको छ, उनीहरूलाई टिकट दिन सकिएको छैन ।
सबै अस्तव्यस्त बनेको छ’, सिटौलाले भने । घर जान आज बिहानैदेखि काठमाण्डौको नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, कलङ्की क्षेत्रमा यात्रुको भिड लागेको छ । काठमाण्डौमा भर्चुअल माध्यमबाट पठनपाठन सुरु भएको र सरकारले निषेधाज्ञा लगाउने निर्णय गरेपछि गाउँ घर फर्किनेको सङ्ख्या बढेको हो ।
सोमवारदेखि नै उपत्यका छाड्नेहरूको सङ्ख्या बढेको र यो सङ्ख्या आज झन् थेगिनसक्नु भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले बताए । उनले निषेधाज्ञा लगाइहाल्ने निर्णय गरेकाले यात्रुहरूलाई सास्ती भएको गुनासो गरे । ‘यात्रुलाई घर फर्किने समय राखेर निषेधाज्ञाको मिति तोक्नुपर्थ्यो’,
उनले भने,‘व्यवस्थापन नगरि मिति तोकिदिँदा यात्रुले सास्ती पाएका छन् भने यात्रु लैजाने गाडीको समेत अभाव भएको छ ।’ घर जाने यात्रुको चाप बढेसँगै काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँमा पनि ट्राफिक जाम बढेको छ । गाडी र मोटरसाइकलमा पेट्रोल–डिजल भर्नेको लाइनले भने सडकमा जाम बढेको छ ।
यात्रुको चाप बढ्दा काठमाण्डौ उपत्यकामा मात्रै होइन मुख्य राजमार्गमा समेत लामो जाम हुन थालेको छ । हिजो त्रिभुवन राजपथको टायल घरदेखि नागढुङ्गासम्म नै लामो जाम थियो । बेलुका रात्रि बससँगै टिपर पनि चल्ने हुँदा चाप हुने गरेको छ ।
अहिले यो सडक खण्डमा निजी गाडीसँगै गाडी रिजर्भ गरेर गाउँ घर जानेको सङ्ख्या बढेको छ । उकालो र साँघुरो सडकका कारण यो सडक खण्डमा एउटा गाडी बिग्रिए पनि घण्टौँ जाम हुने गरेको छ । यस्तै, निषेधाज्ञासँगै काठमाण्डौ उपत्यकामा बजार, पसल बन्द हुने डरले बजारमा उपभोक्ताको भिड बढेको छ ।
आवश्यक सामान एकै ठाउँमा पाइने भएकाले पनि उपभोक्ता एकै पटक शपिङ सेन्टरमा पुगेका छन् । यात्रु र उपभोक्ताको भिडले स्वास्थ्य मापदण्ड पालनामा चुनौती थपिएको छ ।






