काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले गुणस्तरीय शिक्षाका लागि शिक्षकहरूको गुणस्तरलाई माथि उठाउनु पर्ने बताएका छन् । बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत छनोटमा परेका विद्यालयहरूको विवरण प्रस्तुत गर्ने कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले गुणस्तरीय शिक्षाका लागि शिक्षकहरूको गुणस्तरमा ध्यान पुर्याउनुपर्ने बताएका हुन् ।
विद्यार्थीको ध्यानाकर्षण हुने, विद्यार्थीले बुझ्ने खालको शिक्षण विधि र शिक्षकको सम्प्रेषण कला हुनुपर्ने उहाँले बताए । भौतिक संरचनाको विकासले मात्रै शैक्षिक गुणस्तर कायम नहुने भन्दै प्रधानमन्त्री ओलीले शिक्षकको गुणस्तर र शिक्षण विधिमा ध्यान दिनुपर्नेमा जोड दिए । उनले भने,‘राम्रो शिक्षा शिक्षकले प्रदान गर्न सकिरहेको छ कि छैन । शिक्षण विधिमा, सम्प्रेषण कला कस्तो छ शिक्षकमा ?
विद्यार्थीको ध्यानाकर्षण गर्ने खालको, विद्यार्थीले बुझ्ने खालको, विद्यार्थी आकर्षित हुने खालको, विद्यार्थीको रुचि जाग्ने खालको सम्प्रेषण कला, शिक्षण विधि, शिक्षण पद्धतिमा ध्यान दिइरहेका छौँ । मलाई लाग्छ अझ धेरै ध्यान दिनु आवश्यक छ । त्यसका लागि हामीले पहिलो कुरा त शिक्षककै गुणस्तर माथि नउठाइकन विद्यार्थीको गुणस्तर माथि उठाउन सक्दैनौँ ।
शिक्षककै गुणस्तर माथि उठाउनुपर्छ । मुख्य कुरा शैक्षिक वातावरण विद्यालयहरूमा अनिवार्य रूपमा उपयुक्त खालको शैक्षिक वातावरण हुनुपर्दछ । उपयुक्त खालको शिक्षक क्वालिटी हुनुपर्दछ । शिक्षकको क्वालिटी समय समयमा टेस्ट गरिनुपर्छ । शिक्षक आफ्नो विद्यार्थीको लागि उत्तरदायी हुनुपर्छ ।’ राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत देशभरका चार हजार दुई सय ५० विद्यालयलाई कक्षा कोठा,
शौचालय, शैक्षिक सामग्री, सूचना प्रविधि, ल्याब तथा पुस्तकालय, नवीन प्रविधि, विशेष विद्यालय र भौतिक पूर्वाधार तथा शैक्षिक विकास शीर्षकमा बजेट विनियोजन गरिएको ओलीले बताउनुभयो । विद्यालयको छनोट प्रक्रिया उपयुक्त विधिका साथ भएको र आउँदा वर्षमा पनि विद्यालयहरूमा यस प्रकारका नीति, कार्यक्रम बजेटमार्फत पार्दै जाने उनले बताए ।
प्रधानमन्त्री ओलीले भने,‘चार हजार दुई सय ५० विद्यालयमा थप सुधारका लागि, स्तरोन्नतिका लागि कार्यक्रम सञ्चालन गर्दैछौँ । पाँच अर्ब ६ करोड छुट्याएका छौँ । त्यसको छनोट प्रक्रिया उपयुक्त विधिका साथ गर्ने प्रयास भएको छ । बिलकुल नयाँ अभ्यास हामीले सुरु गरेका छौँ र यसरी एकैचोटि यति धेरै विद्यालयहरूमा पहिले कहिल्यै पनि यस प्रकारको अभ्यास गरिएको थिएन ।
यो नयाँ अभ्यास गरिएको छ । यस अभ्यासलाई हामी जारी राख्छौँ । यो हाम्रो नियमित वार्षिक नीति, कार्यक्रम र बजेटभित्रको कुरा हो र यसलाई यसै ढङ्गले कार्यान्वयन गर्दै लगिनेछ ।’ प्रधानमन्त्री ओलीले सरकारले विद्यालय सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधारलगायतका शैक्षिक सामग्री र उपकरणहरू विद्यालयहरूमा पुर्याउन लागेको बताए । स्वास्थ्यसम्बन्धी प्रबन्धसहितको विद्यालय हुनुपर्नेमा पनि प्रधानमन्त्री ओलीले जोड दिए ।






