लमजुङ । लमजुङको डाँडापाखामा यतिबेला विभिन्न थरीका लालीगुराँस फुलेका छन् । लालीगुराँसमा सजिएका छन्, लमजुङका डाँडापाखा । लालीगुराँस हेर्नकै लागि लालीगुराँस फुलेका डाँडापाखामा धाउनेको सङ्ख्या बढ्दै गएको छ । लालीगुराँसले आन्तरिक पर्यटकको ध्यान खिचेको छ ।
होमस्टे सञ्चालन भएका गाउँमा त लालीगुराँस हेर्नकै लागि अहिले दैनिक पर्यटक पुग्ने गरेका छन् । होमस्टेमै बस्ने गरेका छन् । लमजुङको पर्यटकीय गाउँ राइनासकोट क्षेत्रमा पनि लालीगुराँस फुलेका छन् । लालीगुराँस पर्यटकको रोजाइमा पर्ने गरेको छ ।
‘वन पाखामा लालीगुराँस फुल्न थालेका छन् । बर्सेनि यही समयमा फुल्ने लालीगुराँसले पर्यटकको आकर्षण बढाएको छ’, राइनासकोट सामुदायिक होमस्टे व्यवस्थापन समितिका अध्यक्ष खड्गबहादुर गुरुङले भने ।

उनका अनुसार यस गाउँमा शुक्रवार र शनिवारको दिन एक सय ५० जनाभन्दा बढी हाराहारीमा पर्यटक आउँछन् । सरदरमा दैनिक ३० जना हाराहारीमा पर्यटक आउने गरेका छन् । गाउँबाट पैदल हिँडी राइनासकोट जाँदै दायाँ–बायाँ राताम्मे फुलेका फूलले पर्यटकको मन भुलाउँछ । लालीगुराँस लिएर फोटो खिच्नेको सङ्ख्या उत्तिकै हुन्छ ।
‘वन पाखामा फुल्ने लालीगुराँस फूलले पर्यटन प्रवर्द्धनमा टेवा पुर्याएको छ’, उहाँले भन्नुभयो, ‘तर यस वर्ष विगतको तुलनामा कम लालीगुराँस फुलेका छन् ।’ पर्यटन प्रवर्द्धनमा टेवा पुर्याएको लालीगुराँस फूल संरक्षणका लागि आवश्यकता र बार लगाइने योजना रहेको उनले बताए ।
लमजुङको बेसीसहर नगरपालिका ३ मा रहेको काउलेपानी होमस्टेमा अहिले पर्यटकको आगमन बढ्दो छ । पर्यटकको आकर्षण बढाउनका साथै पर्यटकको बसाइ लम्ब्याउन यहाँ बाह्रै महिना बाह्रै वटा विभिन्न प्याकेज सञ्चालन गर्ने गरिएको काउलेपानी सामुदायिक होमस्टे समितिका अध्यक्ष देउबहादुर गुरुङले बताए ।
उनका अनुसार काउलेपानी सामुदायिक होमस्टे समितिले हरेक वर्ष यस समयमा पर्यटकका लागि ‘लालीगुराँस प्याकेज’ ल्याउने गरेको छ । विभिन्न ठाउँबाट गाउँमा आउने पर्यटकलाई बेसीसहर नगरपालिका ४ मा रहेको पुरानोकोट दरबार क्षेत्रमा ढकमक्क फुलेका लालीगुराँस देखाइन्छ । काउलेपानीबाट पैदल हिँडेर एक घण्टा र गाडीमा आधा घण्टाको समयमा लालीगुराँस फुलेका क्षेत्रमा पुग्न सकिन्छ ।
‘सहर–बजारबाट आउने पर्यटक लालीगुराँस हेर्न, तस्बिर खिचाउन पाउँदा निकै खुसी हुन्छन्’, काउलेपानी सामुदायिक होमस्टे समितिका अध्यक्ष गुरुङले भन्नुभयो, ‘लालीगुराँस प्याकेजले पर्यटकको आगमन वृद्धिका साथै पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्याएको छ ।’
जलवायु परिवर्तन र मौसम परिवर्तनको प्रभावका कारण यस वर्ष विगतको तुलनामा लालीगुराँस कम फुलेको उनले बताए । ‘कोपिला धेरै लागेता पनि यस वर्ष कम लालीगुराँस फूलेका छन्’, उनले भने, ‘विशेषगरी फागुन महिनामा ढकमक्क लालीगुराँस फुल्ने गर्छ ।’
यस गाउँमा २५ घरधुरी रहेका छन् । १४ घरमा होमस्टे सञ्चालन गरिएको छ भने बाँकी घरधुरीले कृषिजन्य उत्पादनका क्षेत्रमा काम गर्दै आएका छन् । गाउँमा होमस्टे सञ्चालन गरिएसँगै स्थानीयको आयस्तर वृद्धिका साथै जीवनस्तर उकासिएको छ ।






