नेपालगञ्ज । भारतबाट बिहे गरेर नेपाल आएकाहरूले विभिन्न काम गर्न नेपाली भाषा सिक्न आवश्यक देखेको बताएका छन् । विवाह गरेर भारतका विभिन्न स्थानबाट नेपालमा आएका महिलाहरूले नेपाली भाषाको प्रशिक्षण लिन थालेका छन् । नेपाली भाषा नजान्दा पढेलेखेका महिलाहरू घरमै सीमित हुनुपरेको र आफ्ना छोराछोरीलाई गृहकार्य गराउन समेत समस्या हुने गरेको उनीहरूको अनुभव छ ।
महिलाहरूले नेपाली भाषा सिक्न चाहेको थाहा पाएपछि औतरदेयी प्रतिष्ठानले नेपालगञ्जको नारायण माविमा एक महिने नेपाली भाषा प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको हो । जसमा एक पटकमा १८ देखि २२ जना महिला सहभागी हुने गरेका छन् । बिहे गरेर भारतबाट नेपाल आएकी नेपालगञ्ज सदरलाइन बस्ने सपना कसौधनले भाषा प्रशिक्षण कक्षामा लेख्ने अभ्यास गरेपनि घरपरिवार र छिमेकीसँग बोल्ने अभ्यास भइरहेको बताउँछिन् । उनी भन्छिन्,‘नेपाल आएको १२ बर्षपछि यहाँको भाषा सिक्न पाउँदा धेरै खुशी लागिरहेको छ ।’
उनी आउने दिनमा आफ्नो घर जाँदा त्याहाँ आफ्ना सबै आफ्ना आफन्तलगाएत आमाबुवा भाईबहीनि सबैलाई आफुले जानेको नेपाली भाषाको बारेमा थोरै भएपनि बताउने र बुझाउने बताउँछिन्,‘अब माइत जाँदा आमाबुवा र भाइबहिनीसँग हिन्दीमा कुरा गर्दा प्रत्येक शब्दको नेपाली अर्थ सुनाउन मन छ, अनि बडो रमाइलो हुनेछ ।’ नेपाली भाषा नजान्दा आफ्नो कस्मेटिक पसलमा आएका ग्राहकसँग बोल्न अप्ठेरो भइरहेको र अब भाषा सिक्नकै लागि पनि बढी बोल्न थालेको उनले सुनाइन् ।
विद्यालयमा छोराछोरीको नाम लेखाउन, मासिक शुल्क बुझाउन, अस्पतालमा उपचार गर्न जाँदा र सरकारी कार्यालयमा कुनै काम विशेषले जाँदा भाषाकै समस्या हुने गरेको उनीहरू बताउँछन् । घरपरिवारले हिन्दीमै बोल्ने भएकाले पनि नेपाली भाषा सिक्न समस्या भएको कतिपय महिलाहरू बताउँछन् । नेपालगञ्जकी सन्ध्या गुप्ता बिहे गरेर आएको २८ बर्षपछि नेपाली बोल्ने अभ्यास गरिरहेको बताउँछिन् । घरमा सधैँ हिन्दी बोलिने भएकाले आफ्ना छोरा छोरीले पनि सानैदेखि हिन्दी मात्र सिकेको उनले सुनाइन् ।
दुई छोरा र दुई छोरीलाई नेपाली भाषा समस्याकै कारण भारतमै अध्ययन गर्न पठाएको र अध्ययनपश्चात् उनीहरूले भारतमै जागिर गर्न थालेको उनले बताइन् । आफूले नेपाली भाषा सिकेरै छोड्ने उनको अठोट छ । छोरीहरूलाई नेपाली भाषा नआएकै कारण विवाह पनि भारतमै गरिदिने सङ्केत गर्दै उनले भनिन्,‘भाषा सिक्न थालेपछि नेपाली भाषा असाध्यै मीठो लागेको छ, नेपाली सिक्छु अनि नेपाली छोरीलाई नै बुहारी बनाउने रहर छ ।’
नेपालगञ्जको सदरलाइनकै अर्चना वैश्य भारतबाट विवाह गरेर नेपालगञ्ज आएको १४ बर्ष भइसक्यो, उनी पनि अहिले नेपाली भाषा सिक्दैछिन् । संस्कृत विषयमा स्नातकोत्तर उनले बिहेअघि भारतमा शिक्षण पेशा गरेको तर नेपाल आएपछि भाषाकै कारण आफ्नो पढाइको महत्त्व हराएको बताइन् । नेपाली भाषा सिकेपछि शिक्षण पेशा अँगाल्ने उनको इच्छा छ । उनको अनुभवमा भाषा समस्याले छोरा छोरीलाई अन्य विषयभन्दा नेपाली विषयको गृहकार्य गराउन समस्या हुने गरेको छ ।
उनी भन्छिन्,‘मलाई प्रष्ट नेपाली बोल्न आयो भने म कुनै विद्यालयमा पढाउन सक्षम भइहाल्छु ।’ भारत उत्तरप्रदेश बलरामपुरबाट १४ बर्ष अघि विवाह गरेर नेपालगञ्ज आएकी ज्योत्सना गुप्ताले नेपाली भाषा सिक्न थालेपछि लेख्न समस्या नभएको तर बोल्न अप्ठेरो लाग्ने गरेको अनुभव सुनाइन् । घरमा बोल्ने अभ्यास नभएर सरासर बोल्दा थाहै नपाइ कतिपय हिन्दी शब्द आउने गरेको उनको भनाइ छ ।
ज्योत्सना गुप्ता भन्छिन्,‘अहिले घरका सबै सदस्यसँग नेपाली बोल्ने अभ्यास गरिरहेकी छु, नजानेको ठाउँमा ससुराले यसरी बोल्नुपर्छ भनेर सिकाउनुहुन्छ, मलाई लाग्छ घरमा सधैँ नेपाली बोल्न थालेपछि भाषा सिक्न अब धेरै समय लाग्दैन ।’ उनी जस्तै अन्जली गुप्ता वैश्यले पनि भारतबाट विवाह गरेर आएको १५ वर्षपछि नेपाली भाषा सिक्ने अवसर मिलेको बताइन् ।
उनले भनिन्,‘पहिले नेपाली बोल्न अप्ठेरो महसुस भए पनि अहिले बोल्दै जाँदा हिन्दी र नेपाली भाषामा खासै भिन्नता नरहेको उनको अनुभव छ, ूधेरै शब्द मिल्दो जुल्दो लाग्यो। छ, छैन, हुन्छ, हुनुपर्छ, आउँछ, जान्छ लगायतका शब्द र शब्दको पुछारमा लगाइने मात्रामा फरक पाएँ ।’ कोही बिहे गरेर नेपाल आएको २८ वर्षपछि त कोही १४ वर्षपछि समेत नेपाली भाषा सिक्दै छन् ।
भारतबाटै विवाह गरेर आएका कतिपय महिलाहरूभने केही बर्षमै आफैले नेपाली बोल्न सिकेको बताउँछन् । भारतको गोरखपुरबाट २२ बर्षअघि विवाह गरेर आएकी नेपालगञ्ज फुल्टेक्रा निवासी सुनिता भारतीले सासु, ससुरा, श्रीमान् र जेठानीहरूले आफूसँग हिन्दीमै बोलेपनि आफूमा सुरुदेखि नै नेपाली सिक्ने रुचि रहेको बताइन् ।
जेठानीका साना छोराछोरीसँग बोल्दा बोल्दै थाहै नपाइ एक डेढ बर्षमै नेपाली प्रष्ट बोल्न सिकेको उनको अनुभव छ । सबै किसिमका भाषामा रुचि राख्नेलाई नेपाली भाषा अप्ठेरो नरहेको सुनिता भारतीको भनाइ छ । अहिले भाषा सिकिरहेकामध्ये केहीले स्नातकोत्तर गरेका छन् भने अधिकांशले स्नातक तहसम्म र एकजनाले एलएलबी सम्मको अध्ययन पूरा गरेका छन् ।
कक्षामा आउने महिलाहरू एक आपसमा नेपालीमै संवाद गर्ने गरेको प्रशिक्षकहरूको भनाई छ । पहिले १५ दिनको कक्षा सुरु गर्दा १८ जना सहभागी रहेको तर अहिले सङ्ख्या बढ्दै गएर महिलाहरूबाटै अवधि बढाउन माग भएपछि एक महिनासम्म भाषा सिकाइने व्यवस्था गरिएको प्रतिष्ठानका अध्यक्ष राधेश्याम वैश्यले जानकारी दिए । बिबिसी






