बाँके, ४ भदौः बाँके प्रहरीले लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने चालकविरुद्ध निगरानी र चेकजाँचलाई तीव्र बनाएको छ । यात्रुबाट लागुपदार्थ सेवन गरी सवारी चलाउने गरेको गुनासो आएपछि प्रहरीले लापसे परीक्षणलाई थप प्रभावकारी बनाउँदै त्यस्ता चालकलाई नियन्त्रणमा लिन थालेको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रतितसिंह राठौरले यात्रुबाट आएको गुनासोलाई मध्यनजर गर्दै लापसे परीक्षणलाई तीव्रता दिइएको बताउनुभयो । “केही चालकले लागुपदार्थ सेवन गरेर सवारीसाधन चलाउने गरेको गुनासो यात्रुबाट आएपछि लापसे चेकजाँचलाई तीव्र बनाएका छौँ,” उहाँले भन्नुभयो, “यसअघि ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई जरिवाना गर्ने, सवारीसाधन तथा चालक अनुमतिपत्र नियन्त्रणमा लिने गरिएको थियो भने अहिले सवारी चालकले लागुपदार्थ सेवन गरेको छ कि छैन भन्ने विषयमा पनि नियमित रूपमा परीक्षण गर्न थालेका छौँ ।”
प्रहरीले लापसे परीक्षणका क्रममा एकै स्थानबाट आठजना सवारी चालकलाई लागुपदार्थ सेवन गरेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ । बैजनाथ गाउँपालिका–१ स्थित इलाका प्रहरी कार्यालय चिसापानी, बाँकेको चेकपोस्ट अगाडि गरिएको संयुक्त परीक्षणका क्रममा उनीहरू पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय कोहलपुर, जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके र इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकपोस्ट क्षेत्रमा सवारीसाधन तथा चालकको लापसे परीक्षण गरेको थियो । सो क्रममा २५ वटा सवारीसाधनका चालकको लागुपदार्थ सेवनसम्बन्धी परीक्षण गरिएको प्रहरीले जनाएको छ ।
परीक्षण गरिएका चालकहरूमध्ये आठजनाले लागुपदार्थ सेवन गरेको पुष्टि भएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेका चालक तथा घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । लागुपदार्थ सेवन गरी सवारी चलाउँदा चालकको निर्णय क्षमता, प्रतिक्रिया समय तथा सवारी नियन्त्रणमा प्रतिकूल असर पर्न सक्ने भएकाले दुर्घटनाको जोखिम बढ्ने गर्दछ ।
सडक दुर्घटना न्यूनीकरण तथा सुरक्षित यातायातका लागि लापसे र मापसे परीक्षणलाई थप प्रभावकारी बनाउनुपर्ने स्थानीयको माग छ । नागरिक सरोकार मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले दुर्घटना न्यूनीकरणका लागि लापसे र मापसे चेकजाँचमा कडाइ आवश्यक रहेको बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अंगुर जिसीले सडक दुर्घटना न्यूनीकरण तथा सुरक्षित यातायात सुनिश्चित गर्ने उद्देश्यले सवारी चालकको मादक पदार्थ तथा लागुपदार्थ सेवन परीक्षणलाई नियमित रूपमा तीव्रता दिइएको बताउनुभयो ।






