बाँके, २० जेठः बाँकेको बैजनाथ गाउँपालिका वडा नं। ३ मा रहेको नौबस्ता कारागारमा केही दिनअघि कैदीबन्दीबीच उत्पन्न विवाद र झडपको घटनापछि प्रशासनले सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन २० जना कैदीबन्दीलाई अन्य जिल्लाका कारागारमा स्थानान्तरण गरेको छ ।
जिल्ला प्रशासन र प्रहरी स्रोतका अनुसार घटनामा प्रत्यक्ष रूपमा संलग्न मानिएका कैदीबन्दीलाई पश्चिम नवलपरासीको बर्दघाट कारागार, दाङका तुलसीपुर र घोराही कारागार, रुपन्देही तथा कपिलवस्तु कारागारमा पठाइएको हो। प्रत्येक कारागारमा चार जनाका दरले उनीहरूलाई सरुवा गरिएको जनाइएको छ ।
कैदीबन्दीबीचको विवाद नियन्त्रणमा ल्याउन र कारागारभित्रको वातावरण शान्त बनाउन विभिन्न चरणमा छलफल तथा समन्वयका प्रयास गरिए पनि सहमति जुट्न नसकेपछि कारागार विभागको निर्णयअनुसार सरुवाको प्रक्रिया अघि बढाइएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी पूर्ण खत्रीले जानकारी दिनुभयो । उहाँले हाल कारागारको सुरक्षा अवस्था सामान्य रहेको र नियमित गतिविधि सञ्चालन भइरहेको बताउनुभयो ।
कारागार प्रशासनका अनुसार बी ब्लकमा रहेका कैदी ओमप्रकाश अवस्थीलाई डी ब्लकमा सार्ने निर्णयपछि केही कैदीबन्दीले असन्तुष्टि जनाएका थिए । यही विषयलाई लिएर दुई पक्षबीच भनाभन हुँदै अवस्था तनावपूर्ण बनेको थियो । पछि विवाद झडपमा परिणत भएपछि केही कैदीबन्दीले विरोधस्वरूप कारागारको भित्री भागमा नाराबाजी तथा होहल्ला गरेका थिए ।
घटनापछि जिल्ला प्रहरी कार्यालय बाँके, इलाका प्रहरी कार्यालय कोहलपुर तथा चिसापानीबाट खटिएको संयुक्त सुरक्षा टोलीले तत्काल हस्तक्षेप गरी स्थिति नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अंगुर जिसीले जानकारी दिनुभयो । उहाँका अुनसार सुरक्षाकर्मीको सक्रियता र प्रशासनको समन्वयपछि कारागारभित्रको अवस्था पुनः सामान्य बनेको बताइएको छ ।
हाल कारागार प्रशासनले बाँकी कैदीबन्दीलाई सुरक्षित रूपमा व्यवस्थापन गरेको छ भने यस्ता घटना पुनः नदोहोरिउन् भन्ने उद्देश्यले निगरानी, सुरक्षा जाँच तथा आन्तरिक व्यवस्थापनलाई थप सुदृढ बनाइएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।
नेपालकै आधुनिक र सुविधासम्पन्न कारागारमध्ये एक मानिने नौबस्ता कारागार निर्माण सम्पन्न भई विसं २०८१ बैशाष १६ गतेदेखि सञ्चालनमा आएको हो । देशका विभिन्न पुराना तथा अत्यधिक भीडभाड भएका कारागारको चाप घटाउने, कैदीबन्दीलाई व्यवस्थित, सुरक्षित र मानवअधिकारमैत्री वातावरण उपलब्ध गराउने तथा सुधारमुखी कारागार प्रणालीलाई प्रभावकारी बनाउने सरकारी नीतिअनुसार यो कारागार सञ्चालनमा ल्याइएको हो ।
सरकारको लक्ष्य कारागारलाई केवल सजाय भोग्ने स्थानका रूपमा नभई कैदीबन्दीको सुधार, पुनर्स्थापना र समाजमा पुनःएकीकरणको केन्द्रका रूपमा विकास गर्नु रहेको छ ।






