बर्दिया, जेठ । महिलाहरूलाई आर्थिक रूपमा आत्मनिर्भर, सामाजिक रूपमा सशक्त तथा सीपमूलक उद्यमतर्फ उन्मुख गराउने उद्देश्यले “महिलाहरूको लागि उद्यमशीलता सशक्तिकरण तालिम” सम्पन्न भएको छ । बर्दियाको बाँसगढी नगरपालिका वडा नं. ८ ककौरामा सञ्चालन गरिएको दुई दिने तालिममा स्थानीय तहको सहयोग, जनप्रतिनिधिहरूको सक्रियता र महिलाहरूको उत्साहपूर्ण सहभागिताले उक्त तालिमलाई प्रभावकारी र उपलब्धिमूलक बनाएको सहभागीहरूको भनाइ रहेको छ ।
जेठ २ र ३ गते सञ्चालन गरिएको उक्त तालिम बाँसगढी नगरपालिका वडा नं. ८ को कार्यालयको आर्थिक सहयोग तथा हिमालय न्यूज हब प्रा.लि. शाखा कार्यालय नेपालगञ्ज, बाँकेको आयोजनामा सम्पन्न भएको हो । वडा अध्यक्ष तुलप्रसाद गौतमको अध्यक्षतामा सम्पन्न तालिममा बाँसगढी नगरपालिकाका मेयर खडकबहादुर खड्का, उपमेयर इन्दिरा चौधरी लगायत जनप्रतिनिधि तथा स्थानीय सरोकारवालाहरूको उपस्थिति रहेको थियो । कार्यक्रम बाँसगढी नगरपालिकाकी उपमेयर इन्दिरा चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
ग्रामीण क्षेत्रमा रहेका महिलाहरूलाई केवल घरायसी जिम्मेवारीमा सीमित नराखी उनीहरूलाई आयआर्जन, स्वरोजगार र साना उद्यममार्फत आर्थिक रूपमा सक्षम बनाउने उद्देश्यले सञ्चालन गरिएको तालिममा ३१ जना महिलाहरूको सहभागिता रहेको थियो । सहभागी महिलाहरू विभिन्न समुदाय र पृष्ठभूमिबाट आएका थिए । तालिम अवधिभर महिलाहरूले केवल सैद्धान्तिक ज्ञान मात्र नभई व्यवहारिक अभ्यास, सामूहिक छलफल, प्रस्तुति र अनुभव आदानप्रदानका माध्यमबाट आफूभित्र रहेको सम्भावनालाई पहिचान गर्ने अवसर पाएका थिए ।
तालिममा प्रशिक्षकका रूपमा रहनुभएकी दिल्ली बिसीले महिलाहरूलाई उद्यमशीलताको आधारभूत अवधारणा, आत्मनिर्भर बन्ने उपाय, स्थानीय सरकारबाट प्राप्त गर्न सकिने सेवा तथा सुविधा, महिला सशक्तिकरणका कानुनी आधार, समूह निर्माण, नेतृत्व विकास तथा आयमूलक सीपहरूको महत्वका विषयमा प्रशिक्षण दिनुभएको थियो । उहाँले महिलाहरूले साना सीपबाट पनि ठूला उपलब्धि हासिल गर्न सक्ने बताउँदै आत्मविश्वास, निरन्तरता र सामूहिक सहकार्य भएमा महिलाहरू समाज परिवर्तनको नेतृत्व गर्न सक्ने धारणा राख्नुभयो ।
प्रशिक्षक बिसीले महिलाहरूलाई केवल सीप सिकाउने मात्र नभई आफ्ना समस्या र आवश्यकतालाई स्थानीय सरकारसम्म कसरी पुर्याउने, योजनामा कसरी सहभागी हुने तथा सरकारी कार्यक्रमबाट कसरी लाभ लिन सकिन्छ भन्ने विषयमा समेत जानकारी गराउनुभएको थियो । उहाँका अनुसार महिलाहरू आर्थिक रूपमा सक्षम भएमा परिवार, समाज र स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्ने भएकाले यस्ता तालिमहरू समयको आवश्यकता बनेका छन् ।
तालिमको विशेष पक्ष भने सहभागी महिलाहरूलाई सामूहिक कार्यमा सहभागी गराइनु थियो। महिलाहरूलाई समूह विभाजन गरी उनीहरूले आफ्नो समुदायमा रहेका समस्या, सम्भावना र आवश्यकता पहिचान गर्दै उद्यम सञ्चालनका लागि आवश्यक सीप र सामग्रीबारे प्रस्तुति दिन लगाइएको थियो । सामूहिक छलफलका क्रममा महिलाहरूले सिलाइ कटाइ तालिम, ब्युटी पार्लर सम्बन्धी सीप, हाते मसिन, सालको पातबाट टपरी बनाउने तालिम, घरेलु उत्पादन तथा साना उद्योग सञ्चालनका लागि आवश्यक सहयोग उपलब्ध गराउन स्थानीय सरकारसँग माग गरेका थिए ।
महिलाहरूले आफूहरूसँग क्षमता र इच्छा भए पनि अवसर, तालिम र स्रोतको अभावले अगाडि बढ्न कठिन भएको अनुभव साझा गरेका थिए। उनीहरूले स्थानीय सरकारले यस्ता तालिमलाई निरन्तरता दिनुका साथै सीप सिकेपछि आवश्यक उपकरण र बजारीकरणमा समेत सहयोग गर्नुपर्ने आवश्यकता औंल्याएका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा बाँसगढी नगरपालिकाकी उपमेयर इन्दिरा चौधरीले महिलाहरूको सशक्तिकरणलाई पालिकाले प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले महिलाहरूलाई आर्थिक रूपमा सक्षम बनाउनु नै वास्तविक सशक्तिकरण भएको उल्लेख गर्दै पालिकाले विभिन्न सीपमूलक, आयआर्जन तथा आत्मनिर्भरता सम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “महिलाहरू सक्षम भए परिवार सक्षम हुन्छ, परिवार सक्षम भए समाज र देश नै सक्षम बन्छ। त्यसैले महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले पालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । महिलाहरूको क्षमता विकास, सीप विकास र आयआर्जनका लागि आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम ल्याइनेछ ।”
उपमेयर चौधरीले महिलाहरूलाई केवल तालिममा सीमित नरही सिकेका कुरालाई व्यवहारमा उतार्न आग्रह गर्दै स्थानीय सरकार सधैं महिलाहरूको साथमा रहेको बताउनुभयो । उहाँले महिलाहरूले समूह बनाएर साना उद्योग सञ्चालन गर्न सके आर्थिक रूपमा मात्र नभई सामाजिक रूपमा पनि सम्मान र पहिचान प्राप्त गर्न सक्ने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा सहभागी भएका बाँसगढी नगरपालिकाका मेयर खडकबहादुर खड्काले पनि महिलाहरूको सक्रिय सहभागिताले तालिम प्रभावकारी बनेको उल्लेख गर्दै महिलाहरूको विकास बिना समग्र समाजको विकास सम्भव नरहेको बताउनुभयो । उहाँले स्थानीय सरकारले महिलाहरूको आयस्तर वृद्धि र स्वरोजगार सिर्जनालाई प्राथमिकतामा राखेर योजना बनाइरहेको जानकारी दिनुभयो ।
वडा अध्यक्ष तुलप्रसाद गौतमले वडा स्तरबाट महिलाहरूलाई सक्षम र आत्मनिर्भर बनाउन यस्ता कार्यक्रम सञ्चालन गरिएको बताउँदै आगामी दिनमा पनि महिलाहरूको आवश्यकता अनुसार विभिन्न सीपमूलक तालिम सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले महिलाहरूको उत्साह र सक्रिय सहभागिताले आफूहरूलाई थप जिम्मेवार बनाएको धारणा राख्नुभयो ।
तालिमको समापन कार्यक्रममा सहभागी महिलाहरूले तालिमबाट आफूहरूले ठूलो प्रेरणा र नयाँ सोच प्राप्त गरेको बताएका थिए ।। सहभागी बसन्ती थारु, ३९ वर्षले तालिमले आफ्नो सोच परिवर्तन गरेको बताउँदै भन्नुभयो, “हामीले अहिलेसम्म यस्तो तालिम लिएका थिएनौं । घरको काममै सीमित भएर बसिरहेका हामीलाई यो तालिमले पनि महिलाले केही गर्न सक्छन् भन्ने आत्मविश्वास दिएको छ । अब सीप सिकेर आफ्नै काम गर्ने र आर्थिक रूपमा आत्मनिर्भर बन्ने इच्छा जागेको छ ।”
त्यस्तै सहभागी ललिता थापा, ३८ वर्षले पनि तालिम निकै प्रभावकारी रहेको अनुभव सुनाउँदै भन्नुभयो, “यो तालिमले महिलाहरूलाई अगाडि बढ्न हौसला दिएको छ। हामीले केवल सुन्ने होइन, समूहमा बसेर आफ्ना समस्या र आवश्यकता राख्ने अवसर पनि पायौं । स्थानीय सरकारले यस्ता तालिमलाई निरन्तरता दिए धेरै महिलाहरूले जीवन बदल्ने अवसर पाउनेछन् ।”
तालिममा सहभागी भएका महिलाहरुले विशेषगरी तालिममा भएको सामूहिक छलफल र अनुभव आदानप्रदानले महिलाहरूबीच आत्मीयता, सहकार्य र साझा उद्देश्यको भावना विकास भएको बताएका थिए । सहभागी महिलाहरूले आगामी दिनमा सिकेका सीपलाई व्यवहारमा उतार्दै साना उद्यम सुरु गर्ने योजना रहेको समेत बताएका छन् ।
ग्रामीण क्षेत्रमा महिलाहरूलाई लक्षित गरी सञ्चालन गरिने यस्ता तालिमहरूले केवल सीप हस्तान्तरण मात्र नगरी महिलाहरूमा आत्मविश्वास, नेतृत्व क्षमता र सामाजिक सहभागिता बढाउने काम गर्ने सरोकारवालाहरूको भनाइ छ। आर्थिक अभाव, अवसरको कमी र सामाजिक सीमाबद्धताबीच जीवन बिताइरहेका धेरै महिलाहरूका लागि यस्ता कार्यक्रम आशा र सम्भावनाको नयाँ ढोका बन्न थालेका छन् ।
दुई दिनसम्म सञ्चालन भएको उक्त उद्यमशीलता सशक्तिकरण तालिमले महिलाहरूलाई स्वरोजगार र आत्मनिर्भरताको बाटोमा अगाडि बढ्न प्रेरित गर्नुका साथै स्थानीय सरकार र समुदायबीच सहकार्यको नयाँ आधारसमेत तयार गरेको विश्वास गरिएको छ । स्थानीय स्तरमै महिलाहरूको क्षमता विकास गरी आयआर्जनका अवसर सिर्जना गर्न सकिए ग्रामीण समाजको आर्थिक र सामाजिक रूपान्तरणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।






