बाँके, १५ वैशाखः नेपलगञ्ज विमानस्थलमा आजदेखि यात्रुहरूका लागि निःशुल्क बस सेवा सञ्चालनमा ल्याइएको छ । यात्रुहरूको सेवा, सुविधा र सहज आवागमनलाई मध्यनजर गर्दै नागरिक उड्डयन प्राधिकरणद्वारा उक्त सेवा सञ्चालनमा ल्याइएको हो ।
विमानस्थलबाट राँझा चोकसम्म करिब २ किलोमिटर दूरीमा यात्रुहरूलाई सहज रूपमा आवतजावत गर्न सकून् भन्ने उद्देश्यले बस सेवा सञ्चालन गरिएको नेपालगञ्ज विमानस्थल कार्यालयले जनाएको छ । विशेषगरी वृद्धवृद्धा, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा धेरै सामान बोकेर यात्रा गर्ने यात्रुहरूलाई लक्षित गर्दै यो सेवा सुरु गरिएको बताइएको छ ।
उक्त बसमा बस्नु भएकी यात्रु सरिता शर्माले निःशुल्क ट्रली बस सेवाले विशेष राहत मिलेको बताउनुभयो । “म आज काठमाडौँबाट नेपालगञ्ज आएकी हुँ । यहाँ झर्दा अटोले लिने चर्को शुल्क र अटवालासँग बार्गेनिङ गर्दा खेप्नुपर्ने गर्मी यी दुवैबाट छुटकारा पाएको अनुभूति भएको छ ।ू उहाँले भन्नुभयो, ूगर्मीको समयमा धेरै सामान बोकेर विमानस्थलदेखि बाहिरसम्म हिँड्न निकै गाह्रो हुन्थ्यो । अहिले ट्रली बस सेवा सुरु भएपछि निकै सहज भएको छ । विशेषगरी महिला, वृद्धवृद्धा र बालबालिकासहित यात्रा गर्नेहरूका लागि यो सेवा धेरै उपयोगी छ ।”
त्यस्तै, सोही बसमा सवार यात्रु रमेश यादवले पनि यो सेवा यात्रुमैत्री भएको प्रतिक्रिया दिनुभयो । उहाँ पनि सरितासँगै एउटै विमानमा नेपालगञ्ज विमानस्थलमा काठमाडौँबाट आइपुग्नुभएको हो । “विमानस्थलमा छोटो दूरी भए पनि घाम र गर्मीका कारण हिँड्न समस्या हुन्थ्यो । आफ्नो सवारी साधन नहुँदा अटोवालाहरूसँग चर्को भाडामा यात्रा गर्नु पर्थ्यो । तर निःशुल्क बस सेवाले समय पनि बचाएको छ र यात्रुहरूलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुग्न सहज बनाएको छ । यस्तो सेवा निरन्तर रहनुपर्छ ।” उहाँले भन्नुभयो ।
नेपालगञ्ज विमानस्थल प्रमुख सन्तोष कुमार पोखरेलले यात्रुहरूको सुविधालाई प्राथमिकतामा राखेर सेवा विस्तार गरिएको बताउँदै भन्नुभयो, “विमानस्थलमा आउने तथा यहाँबाट बाहिरिने यात्रुहरूले छोटो दूरीमा पनि सहज र सुरक्षित रूपमा यात्रा गर्न सकून् भन्ने उद्देश्यले निःशुल्क बस सेवा सुरु गरिएको हो । यसले यात्रुहरूको समय बचत गर्नुका साथै उनीहरूलाई थप सहजता प्रदान गर्नेछ ।”
उहाँले थप भन्नुभयो, “झण्डै २५ जना यात्रु अट्ने सिट क्षमता रहेको यो बस पूर्ण रूपमा अपाङ्गमैत्री छ । शारीरिक रूपमा असहजता भएका यात्रुहरूलाई समेत सहज पहुँच होस् भन्ने सोचका साथ यसको सञ्चालन गरिएको हो । आगामी दिनमा यात्रुहरूको आवश्यकताअनुसार यस्ता सेवा अझ विस्तार गर्दै लैजाने योजना पनि रहेको छ ।”
नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानस्थलको सेवा प्रवाहलाई थप व्यवस्थित, आधुनिक र यात्रुमैत्री बनाउन विभिन्न सुधारका कामहरू अगाडि बढाइँदै छन् । निःशुल्क बस सेवा पनि सोही योजनाअन्तर्गत सञ्चालनमा ल्याइएको हो । स्थानीयवासी तथा यात्रुहरूले यस सेवाबाट विशेष राहत महसुस हुने बताएका छन् । विशेषगरी गर्मीको समयमा छोटो दूरी हिँड्नुपर्ने बाध्यता हट्नुका साथै सहज र सुरक्षित रूपमा गन्तव्यसम्म पुग्न सकिने भएकाले यात्रुहरू खुसी देखिएका छन् ।






