रुपनी जि एम,
दैलेख, १३ वैशाखः दैलेखको पञ्चकोशी धार्मिक पर्यटन मेलाको आज समुद्घाटन गरिएको छ । कर्णाली प्रदेश प्रमुख माननीय यज्ञराज जोशीद्वारा पानसमा बत्ती बालेर तथा ३१ जना बटुकद्वारा स्वस्तिक वाचन गरेर उक्त पञ्चकोशी धार्मिक पर्यटन मेलाको समुद्घाटन गरिएको हो । दैलेखस्थित पञ्चकोशी ज्वालामुखी धामलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा धार्मिक पर्यटनसँग जोड्दै जिल्लालाई प्रमुख धार्मिक पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले उक्त मेलाको आयोजना गरिएको आयोजकले जनाएको छ ।
ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक दृष्टिले अत्यन्त महत्वपूर्ण मानिने पञ्चकोशी क्षेत्रलाई संरक्षण, प्रवर्द्धन र प्रचारप्रसार गर्दै देशविदेशका श्रद्धालु तथा पर्यटकलाई आकर्षित गर्ने लक्ष्य रहेको पञ्चकोशी क्षेत्र विकास संस्थाका अध्यक्ष नवीनकुमार योगीले बताउनुभयो । “आजबाट शुरु भएको यो एक हप्ते धार्मिक पर्यटन मेलाले यस क्षेत्रलाई संरक्षण र प्रवर्द्धन गर्नेछ भन्ने हामीले विश्वास लिएका छौं ।” अध्यक्ष योगीले भन्नुभयो, “पञ्चकोशी क्षेत्रको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वलाई विश्वसामु चिनाउने हाम्रो साझा अभियान हो । यस्मा साथ दिनुहुने सम्पूर्ण अतिथि, श्रद्धालु र सहयोगीप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु ।”
आज समुद्घाटन गरिएको उक्त पञ्चकोशी धार्मिक पर्यटन मेलामा १८ वर्षीया देवी कृति किशोरीले मुख्य स्कन्द पुराण वाचन गर्नु भएको थियो । उहाँले यस मेलाले दैलेखलाई धार्मिक पर्यटनको नयाँ केन्द्रका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा विशेष अतिथिका रूपमा रहनु भएका दैलेख निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य लक्ष्मीप्रसाद पोखरेलले, “पञ्चकोशी ज्वालामुखी केवल दैलेखको मात्र गौरव होइन, यो समग्र राष्ट्रकै धार्मिक सम्पदा हो । यसको संरक्षण, विकास र प्रवर्द्धनमा राज्यले विशेष प्राथमिकता दिनुपर्छ,” भन्नुभयो । त्यसैगरी विशिष्ट अतिथिका रूपमा कार्यक्रममा सहभागी हुनु भएका कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले, “धार्मिक पर्यटनले संस्कृति जोगाउने मात्र होइन, स्थानीय जनताको आर्थिक जीवनमा प्रत्यक्ष परिवर्तन ल्याउने आधार पनि तयार गर्छ। पञ्चकोशी क्षेत्रलाई योजनाबद्ध रूपमा विकास गरिनेछ,” बताउनुभयो ।
कर्णाली प्रदेश सभा सदस्य पूर्ण चालिसेले, “पौराणिक इतिहास बोकेको पञ्चकोशी क्षेत्रलाई आधुनिक पर्यटन पूर्वाधारसँग जोड्न सके कर्णालीको समृद्धिको नयाँ ढोका खुल्नेछ ।” भन्दै धार्मिक क्षेत्रको दीर्घकालीन विकासमा सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो । सोही क्रममा कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष सूर्यनाथ योगीले, “धार्मिक आस्था, प्राकृतिक ज्वालामुखी र सांस्कृतिक विरासतको संगम बनेको पञ्चकोशी क्षेत्रलाई प्रदेशकै नमुना धार्मिक पर्यटन गन्तव्य बनाउने दिशामा योजना आयोग गम्भीर रूपमा अघि बढिरहेको छ ।” भन्नुभयो ।
अतिथिका रूपमा योजना आयोगका सदस्य अशोकनाथ योगीले, “संरक्षणसँगै योजनाबद्ध पूर्वाधार विकास भयो भने पञ्चकोशी क्षेत्रले अन्तर्राष्ट्रिय पहिचान बनाउन सक्छ,” भन्नुभयो । डम्बर रावलले, “स्थानीय समुदायको सक्रिय सहभागिताविना धार्मिक पर्यटनको दीर्घकालीन सफलता सम्भव हुँदैन ।” बताउनुभयो । पूर्व प्रदेश सभा सदस्य सुशीलकुमार थापाले, “धार्मिक आस्था र स्थानीय विकासलाई एकसाथ जोड्ने उत्कृष्ट अवसर पञ्चकोशी मेला बनेको छ,” उल्लेख गर्नुभयो ।
यसैगरी उक्त धार्मिक मेलामा कर्णाली प्रदेश प्रमुख तथा प्रमुख अतिथि यज्ञराज जोशीले पञ्चकोशी ज्वालामुखी धाम केवल दैलेखको मात्र धार्मिक धरोहर नभई यो सम्पूर्ण कर्णाली प्रदेश र राष्ट्रकै गौरवको विषय भएको बताउनुभयो । “यहाँ रहेको प्राकृतिक ज्वालामुखी, धार्मिक आस्था, स्कन्द पुराणसँग जोडिएको पौराणिक महत्व र सांस्कृतिक विरासतले यस क्षेत्र केवल दैलेखको मात्र नभई राष्ट्रकै गौरवको विषय भएको हुनाले यस्को संरक्षण, प्रवर्द्धन र योजनाबद्ध विकासका लागि प्रदेश सरकार, स्थानीय सरकार, सरोकारवाला निकाय र स्थानीय समुदाय सबै एकजुट भएर अघि बढ्न आवश्यक छ ।” उहाँले भन्नुभयो ।
धार्मिक पर्यटनको विकाससँगै स्थानीय जनताको आयआर्जन, रोजगारी, होटल व्यवसाय, कृषि उत्पादन र समग्र आर्थिक गतिविधिमा सकारात्मक परिवर्तन आउने बताउँदै उहाँले यस क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धार्मिक पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न आवश्यक पूर्वाधार, सडक, खानेपानी, सरसफाइ र पर्यटकमैत्री वातावरण निर्माणमा विशेष ध्यान दिनु पर्नेमा जोड दिनुभयो ।
दुल्लु नगरपालिकाका नगरप्रमुख भरत रिजालले पनि दुल्लु क्षेत्रको ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने महत्वपूर्ण अवसरका रूपमा पञ्चकोशी धार्मिक पर्यटन मेलालाई लिएको बताउनुभयो । यसले स्थानीय पर्यटन, अर्थतन्त्र र पहिचानलाई थप मजबुत बनाउनेमा आफु विश्वस्त रहेको पनि बताउनुभयो ।
“स्थानीय सरकारका तर्फबाट पञ्चकोशी क्षेत्रको संरक्षण, सडक पहुँच विस्तार, धार्मिक स्थलहरूको सौन्दर्यकरण, खानेपानी, विश्रामस्थल, शौचालय, सूचना केन्द्र तथा पर्यटकलाई आवश्यक आधारभूत सुविधा विस्तारमा निरन्तर पहल गरिनेछ ।” उहाँले भन्नुभयो । साथै स्थानीय कला, संस्कृति, उत्पादन र परम्परालाई पर्यटनसँग जोडेर स्थानीय नागरिकको आर्थिक सशक्तीकरणमा विशेष ध्यान दिइने र यो मेला केवल धार्मिक आस्थाको विषय मात्र नभई दुल्लु नगरको समग्र विकास र पहिचानसँग जोडिएको साझा अभियान भएको उहाँको भनाई थियो ।
नारायण नगरपालिकाका नगरप्रमुख लोमन शर्माले पनि धार्मिक पर्यटनले स्थानीय उत्पादन, संस्कृति र पहिचानलाई एकैसाथ अघि बढाउने अवसर दिएको बताउँदै स्थानीय सरकारको तर्फबाट पनि आगामी दिनहरुमा आवश्यक सहयोग हुने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । त्यसैगरी दुल्लु नगरपालिकाका उपप्रमुख बिना कार्कीले, महिला, युवा र स्थानीय समुदायको सहभागिताले मात्रै यस्तो अभियान दीर्घकालीन रूपमा सफल हुने धारणा व्यक्त गर्नुभयो ।
प्राकृतिक रूपमा निरन्तर बलिरहने ज्वालामुखी, प्राचीन मन्दिरहरू, धार्मिक आस्था र स्कन्द पुराणसँग जोडिएको पौराणिक महत्वका कारण पञ्चकोशी क्षेत्रलाई विशेष धार्मिक धामका रूपमा चिनिन्छ । उक्त क्षेत्रको समुचित प्रचारप्रसारले स्थानीय आर्थिक गतिविधि वृद्धि हुनुका साथै होटल व्यवसाय, यातायात, कृषि उत्पादन र स्थानीय रोजगारीमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ । धार्मिक पर्यटनमार्फत दैलेखको पहिचान देशविदेशमा अझ व्यापक रूपमा स्थापित हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा स्वागत मन्तव्य सोही संस्थाकी उपाध्यक्ष सुनिता खड्काले गर्नुभएको थियो भने कार्यक्रममाथि प्रकाश संस्थाका सचिव बखत नेपालीले पार्नुभएको थियो । धार्मिक पर्यटन मेलामा सहभागी अतिथिहरूलाई शुभकामना मन्तव्य दुल्लु नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष दिपेन्द्रकुमार पुरीले व्यक्त गर्नुभएको थियो ।






