बाँके, १७ चैत्रः बाँकेको खजुरा गाउँपालिकामा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको सहभागितासहित “प्रथम खजुरा गोल्ड कप” फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । न्यू डाँफे स्पोर्टस् क्लवको आयोजनामा तथा खजुरा गाउँपालिकाको संरक्षणमा सञ्चालन हुन लागेको उक्त प्रतियोगिता चैत्र ३० गतेदेखि सुरु हुने तय गरिएको छ ।
आयोजकका अनुसार प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ। सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत क्लबले प्रतियोगिता भव्य रूपमा सम्पन्न गर्ने तयारी भइरहेको जानकारी दिएको हो । क्लबका अध्यक्ष बालाराम खत्रीका अनुसार प्रतियोगितामा दुई विदेशी टिमसहित आठ टिमको सहभागिता रहनेछ ।
प्रतियोगितामा संकटा क्लब काठमाडौं, एपीएफ क्लब, चर्च ब्वाईज क्लब काठमाडौं, नाइजेरियन जोन क्लब (नाइजेरिया), लखनउ साहारा क्लब (भारत), गोरखा ब्वाईज स्पोर्टस् क्लब (बुटवल), कांक्रेबिहार क्लब (सुर्खेत) र आयोजक न्यू डाँफे स्पोर्टस् क्लब खजुरा सहभागी हुनेछन् ।
प्रतियोगिताको विजेताले ७ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ४ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ। साथै सर्वोकृष्ट खेलाडी तथा विभिन्न विधागत उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
क्लबका अध्यक्ष खत्रीका अनुसार प्रतियोगिता सञ्चालनका लागि करिब ७३ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । सो रकममध्ये खजुरा गाउँपालिकाबाट १७ लाख रुपैयाँ सहयोग प्राप्त हुने भएको छ भने अमेरिका निवासी समाजसेवी लिलबहादुर थापाले प्रथम पुरस्कारका लागि ७ लाख रुपैयाँ सहयोग गरेका छन् ।
त्यस्तै, चित्लाङ एफसीका सञ्चालक अंकित थापाबाट समेत ७ लाख रुपैयाँ सुनिश्चित भएको छ । बाँकी रकम आयोजकले आन्तरिक स्रोतबाट व्यवस्थापन गर्ने जनाएको छ । प्रतियोगितामा ५० हजारभन्दा बढी दर्शक सहभागी हुने अपेक्षा गरिएको छ । कार्यक्रममा बोल्दै खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक ‘तुफान’ले खेलकुदमार्फत खजुरालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग पुग्ने विश्वास व्यक्त गनृु भएको थियो ।
उहाँले खेल पर्यटन प्रवर्द्धनका लागि स्थानीय सरकारले प्राथमिकता दिएको उल्लेख गर्दै प्रतियोगितामा सहभागी हुने खेलाडीहरूलाई बाँकेको निकुञ्ज तथा बर्दियाको ठाकुरद्वाराजस्ता पर्यटकीय क्षेत्रको अवलोकन गराउने योजना रहेको जानकारी दिनुभयो । खेलकुद विकास परिषदका सदस्य सचिव छवि विष्टले खजुरामा गोल्ड कप आयोजना गर्ने सपना अब साकार हुने विश्वास व्यक्त गर्नु भएको थियो ।
त्यस्तै, गाउँपालिकाका शिक्षा तथा युवा खेलकुद शाखा प्रमुख खगेन्द्र मल्लले युवालाई दुर्व्यसनबाट जोगाउन खेलकुदले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । खजुरास्थित मिनी रंगशाला डि गाउँमा सञ्चालन हुने प्रतियोगितालाई सफल बनाउन स्थानीयवासीबीच एकता आवश्यक रहेकोमा सहभागीहरूले जोड दिएका छन् ।






