बाँके, २० फागुन । जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन सुरक्षा घुम्ती टोलीका प्रमुख महेश कुमार गुरुङले निर्वाचन क्षेत्र नं. १ मा मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको बताउनुभएको छ ।
उहाँका अनुसार बाँके जिल्लामा तीनवटा निर्वाचन क्षेत्र रहेका छन् । तीमध्ये निर्वाचन क्षेत्र नं. १ मा ४८ मतदान स्थल र १४१ मतदान केन्द्र रहेका छन् । यसैगरी राप्तीसोनारी गाउँपालिकामा १९ मतदान स्थल र ५२ मतदान केन्द्र कायम गरिएको छ ।
घुम्ती टोलीसहित आज गरिएको अनुगमनका क्रममा मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा सुरक्षाकर्मीका स्थानीय कमाण्डरसँग छलफल गरिएको उहाँले जानकारी दिनुभयो। भोलि फागुन २१ गते हुने मतदानका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको पाइएको उहाँको भनाइ छ ।
उहाँले मतदानको सन्दर्भमा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै पर्याप्त सुरक्षा व्यवस्था मिलाइएको बताउँदै मतदातालाई ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गर्नुभयो ।
“सुरक्षा व्यवस्था चुस्त–दुरुस्त रहेको छ । सबै मतदाताले शान्तिपूर्वक र भयरहित वातावरणमा आफ्नो मताधिकार प्रयोग गर्नुहुन हार्दिक अनुरोध गर्दछु ।” सहायक प्रमुख जिल्ला अधिकारी गुरुङले भन्नुभयो ।






