बाँके, १८ फागुनः प्रतिनिधि सभा निर्वाचन २०८२ लाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) बाँकेले जिल्लाभर खटिने निर्वाचन पर्यवेक्षकहरूका लागि अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेको छ ।
कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले निर्वाचनको विश्वसनीयता कायम गर्न पर्यवेक्षकको भूमिका निर्णायक हुने बताउनुभयो । उहाँले सरकारले पारदर्शी र निष्पक्ष वातावरणमा मतदान सम्पन्न गराउन आवश्यक तयारी गरिरहेको उल्लेख गर्दै सबै सरोकारवालालाई आचारसंहिता पालना गरी जिम्मेवार ढंगले काम गर्न आग्रह गर्नुभयो। निर्वाचन जस्तो संवेदनशील प्रक्रियामा सामूहिक उत्तरदायित्व महत्त्वपूर्ण रहने उहाँको भनाइ थियो ।
त्यसैगरी, नियोक लुम्बिनी प्रदेश समितिका अध्यक्ष बसन्त गौतमले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै तथ्यपरक र निष्पक्ष ढंगले पर्यवेक्षण गर्न आग्रह गर्नुभयो । उहाँका अनुसार नियोकले युवा पुस्ता ‘जेनजी’लाई समेत पर्यवेक्षण प्रक्रियामा सहभागी गराएको छ, जसले पारदर्शितामा थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । नियोक बाँके शाखाका पूर्वअध्यक्ष वरिष्ठ अधिवक्ता लोकबहादुर शाहले लोकतान्त्रिक प्रक्रियालाई सुदृढ बनाउन सबै नागरिकको समान दायित्व रहेको उल्लेख गर्नुभयो ।
अभिमुखिकरणका क्रममा पर्यवेक्षणको उद्देश्य, पर्यवेक्षकको आचारसंहिता, मौन अवधिको संवेदनशीलता, मतदान दिनको जिम्मेवारी, रिपोर्टिङ प्रणाली तथा कल सेन्टर सञ्चालन लगायतका विषयमा नियोक जिल्ला समिति बाँकेका अध्यक्ष नमस्कार शाह र सचिव हेमराज भट्टले सहजिकरण गर्नुभएको थियो ।
कार्यक्रमको अन्त्यमा लुम्बिनी प्रदेश समितिका अध्यक्ष गौतमले सहभागी पर्यवेक्षकहरूलाई सपथ ग्रहण गराउनुभयो । प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि बाँके जिल्लामा नियोकबाट ११ जना र जेनजी समूहबाट १० जना गरी कुल २१ जना पर्यवेक्षक खटिने जनाइएको छ ।






