बाँके, १८ फागुनः फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी अन्तर्गत बाँके जिल्लाका मतदान केन्द्रहरूमा खटिएका कर्मचारीलाई सोमबार निर्वाचन सामग्री वितरण गरिएको छ । निर्धारित कार्यतालिका अनुसार जिल्लाका सबै मतदान केन्द्रमा जिम्मेवारी तोकिएका मतदान अधिकृत र सहायक मतदान अधिकृतले आवश्यक सामग्री बुझेर आ–आफ्नो केन्द्रतर्फ प्रस्थान गरेका छन् ।
जिल्ला निर्वाचन कार्यालय बाँकेका अनुसार सामग्री वितरण प्रक्रिया व्यवस्थित र चरणबद्ध रूपमा सञ्चालन गरिएको थियो । यसअघि नै मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतका कार्यालयहरूमा पठाइएका सामग्रीहरू सम्बन्धित कर्मचारीलाई बुझाएर मतदान केन्द्रतर्फ पठाइएको जनाइएको छ । सामग्री वितरणका क्रममा सुरक्षा प्रबन्ध तथा अभिलेखीकरणको प्रक्रिया समेत कडाइका साथ पालना गरिएको कार्यालयले जनाएको छ ।
जिल्लामा रहेका तीनवटै निर्वाचन क्षेत्र अन्तर्गतका निर्वाचन अधिकृत कार्यालयबाट मतदान सामग्री वितरण गरिएको हो । योसंगै केन्द्रहरूमा निर्वाचनको तयारी शुरु भएर पनि कर्मचारीहरूलाई आवश्यक निर्देशन, कार्यविधि र जिम्मेवारीबारे पुनः जानकारी गराउँदै सामग्री हस्तान्तरण गरिएको जिल्ला निर्वाचन कार्यालय बाँकेले बताएको छ । वितरण सम्पन्न भएसँगै कर्मचारीहरू आफ्नो तोकिएको केन्द्रमा पुगेर मतदान पूर्व तयारीमा जुट्नेछन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगन्जका सहायक निर्वाचन अधिकृत लालबहादुर कार्कीका अनुसार मतदान केन्द्रमा खटिएका कर्मचारीले फागुन १९ र २० गते केन्द्रमा पुगेर मतदान कक्ष व्यवस्थापन, मतपेटिका तयारी, मतदाता नामावली व्यवस्थापन, संकेत चिह्न राख्ने लगायतका सम्पूर्ण प्राविधिक तथा प्रशासनिक तयारी पूरा गर्नेछन् । उहाँका अनुसार यसअघि कर्मचारीहरूलाई आवश्यक तालिम प्रदान गरिसकिएको छ र नियुक्तिपत्र समेत वितरण भइसकेको छ ।
निर्वाचन सामग्री बुझेसँगै कर्मचारीहरू निर्धारित जिम्मेवारी अनुसार निर्वाचन सामाग्री सुरक्षित रूपमा लिएर केन्द्रतर्फ गएको जनाइएको छ । निर्वाचन निष्पक्ष, शान्तिपूर्ण र व्यवस्थित ढंगले सम्पन्न गर्न सबै निकाय समन्वयात्मक रूपमा सक्रिय रहेको सम्बन्धित कार्यालयहरूले बताएका छन् । जिल्ला निर्वाचन कार्यालय बाँकेका अनुसार बाँके जिल्लामा तीन निर्वाचन क्षेत्र रहेका छन् । ती अन्तर्गत १३९ मतदान स्थल र ४०३ मतदान केन्द्र निर्धारण गरिएको छ ।
जिल्लामा कुल ३ लाख ५० हजार ३७१ मतदाता रहेका छन्, जसमध्ये १ लाख ७२ हजार २२३ महिला, १ लाख ७८ हजार ३३९ पुरुष र ९ जना अन्य मतदाता छन् । निर्वाचनको मिति नजिकिँदै जाँदा प्रशासनिक तथा प्राविधिक तयारी तीव्र पारिएको छ । सम्बन्धित निकायहरूले मतदानको दिन स्वच्छ, निष्पक्ष र भयरहित वातावरण सुनिश्चित गर्न आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको बताएका छन् ।






