बाँके, १७ फागुनः गृहमन्त्री ओम प्रकाश अर्यालले निर्वाचनको सबै सुरक्षा तयारी पूरा भएको बताउनुभएको छ । आज बाँकेमा आयोजित पत्रकार सम्मेलनमा स्वच्छ, शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुने बताउनुभएको हो ।
गृहमन्त्री अर्यालले आगामी निर्वाचनको सुरक्षा तयारी सन्तोषजनक रहेको बताउनुभएको छ । बाँके जिल्लाका सुरक्षा प्रमुखहरूसँग भेटघाट गरेपश्चात गृहमन्त्री अर्यालले पत्रकार भेटघाटमा निर्वाचनको सुरक्षा तयारी सन्तोषजनक रहेको बताउनुभएको हो ।
जिल्लाको शान्ति सुरक्षा तयारीको विषयमा गृहमन्त्री अर्यालले बाँके जिल्लाको सुरक्षा अवस्था र निर्वाचन लक्षित योजनाका बारेमा जानकारी लिन आफू यहाँ आएको बताउनुभयो । उहाँले भन्नुभयो, “म बाँके जिल्लाको निर्वाचन सुरक्षाको विषयमा बुझ्नलाई नै आएको हूँ । यहाँ राम्रा कुरा पनि थुप्रै भएका छन् । चुनौतीहरू पनि छन् । ती चुनौती समाधान गर्न कस्तो योजना र रणनीति बनाउनुभएको छ भन्ने कुरा बुझ्न म यहाँ आएको हुँ । यहाँका सुरक्षा प्रमुखहरुले सबै कुरा राम्रोसँग व्यवस्था गर्नुभएको छ ।”
गृहमन्त्री अर्यालले जिल्ला सुरक्षा समिति, प्रमुख जिल्ला अधिकारी र मुख्य निर्वाचन अधिकृत लगायतको काम कारबाही सन्तोषजनक रहेको उल्लेख गर्नुभयो । “उहाँहरूले सुरक्षा अवस्था राम्रोसँग सम्हाल्नुभएको छ । आउन सक्ने चुनौतीहरूको पूर्व तयारी पनि राम्रो देखिएको छ ।” उहाँले भन्नुभयो ।

समग्र देशको सुरक्षा अवस्था सुदृढ हुँदै गएको र देशैभर निर्वाचनको माहोल बनेको उहाँको पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो । केही समूहहरूले निर्वाचन बिथोल्ने प्रयास गरिरहेको सन्दर्भमा गृहमन्त्रीले कडा चेतावनी दिँदै भन्नुभयो, “ती कुनै दल होइनन्, समूहहरू हुन् । त्यस्ता समूहलाई हामीले नियन्त्रणमा लिएका छौँ र लिन्छौँ पनि । जसले कानुन विपरीत काम गर्छ र मताधिकार जस्तो लोकतान्त्रिक प्रक्रियामा अवरोध गर्छ, उनीहरूलाई नियन्त्रणमा लिएर कानुनी कारबाही गरिनेछ ।”
बझाङ्को निर्वाचन अवस्था बुझ्नलाई नेपालगञ्ज एयरपोर्टमा आइपुग्नुभएका गृहमन्त्री अर्यालले हिमाली जिल्लाहरूमा निर्वाचन गराउन कुनै समस्या नरहेको र दार्चुला लगायत अन्य हिमाली ठाउँहरूमा अस्थायी बसोबास गरेका नागरिकहरूका लागि मतदान केन्द्रको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।
यसका साथै बाँके जिल्लाको धार्मिक सहिष्णुताको प्रशंसा गर्दै उहाँले यहाँको नेतृत्वले गलत तत्वहरूलाई समयमै पहिचान गरी रोकथाम गर्न सफल भएको बताउनुभयो । जेन्जि आन्दोलनका बेला भएका कतिपय घटनाहरूको विस्तृत अध्ययन भइरहेको र त्यसका लागि सरकारले समय थप गरेको समेत उहाँले जानकारी दिनुभयो ।
गृहमन्त्री अर्याल समक्ष समग्र जिल्लाको निर्वाचनको सम्भावित चुनौति, शान्ति सुरक्षाको अवस्था र तयारीको विषयमा जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामांगले जानकारी गराउनु भएको थियो । उक्त भ्रमण टोलीमा गृह सचिव, नेपाल प्रहरीका महानिरीक्षक र सशस्त्र प्रहरी बलका महानिरीक्षक समेत सहभागीत थियो ।






