बाँके, १४ फागुन । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सुशासनको संकल्प बोकेर कांग्रेस अघि बढेको बताउनु भएको छ । बिहीबार बाँकेको जानकी गाउँपालिका वडा नं. ३ मा आयोजित वृहत चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले सुझबुझ, उत्साह र उर्जा बोकेर देश बनाउने प्रतिज्ञासहित कांग्रेस अघि बढेको बताउँदै उक्त कुरा बताउनु भएको हो ।
“हिजो गरेका फोहोरलाई सफा गर्ने प्रतिज्ञा गरेर अघि बढेका छौं ।” सभापति थापाले भन्नुभयो, “कांग्रेससंग विवेक छ, सामथ्र्य छ, देश बनाउने संकल्प छ । देशलाई बनाउँछौं ।” भदौ २३ र २४ को जेन्जी विद्रोहपछि मुलुकमा विशिष्ट परिस्थितिमा अप्रत्याशितरुपमा निर्वाचन हुँदै गरेको भन्दै सभापति थापाले भन्नुभयो, “फेरि एउटा प्रयोग नेपालमा नगरौं, २०७४ देखि २०८२ सम्मको अवधि खेर गएको छ ।”
मुलुकले विकास र सुशासनमा यो समयलाई प्रयोग गर्न नसक्नु नै दभाग्य भएको उहाँले बताउनुभयो । सभापति थापाले आठ वर्षको क्षतीपूर्ति बेहोर्नु पर्ने सामथ्र्य कांग्रेसले राख्ने उल्लेख गर्दै गएको आठ बर्ष गति र मति दुबै ठीक नहुँदा मुलुक विकास र सुशासनको राजमार्गमा दौडिन नसकेको उल्लेख गर्नुभयो ।
मुलुकलाई अब कांग्रेसले असामान्य तरिकाले बेजोड गतिमा अघि बढाउने दाबी गर्दै सभापति थापाले भन्नुभयो,“बेजोडले गाडी दौडाउनुछ, कसैलाई नछोडेर, कांग्रेसले गाडी बेजोड गतिमा दौडिने ग्यारेन्टी गर्दछ । कंग्रेसले अब दुर्घटनामा पर्न पनि दिँदैन ।” अबको पाँच बर्ष रोजगारी, विकास, सुशासन र समृद्धिको बर्ष बनाउने संकल्प कांग्रेसले लिएको उहाँले बताउनुभयो ।
सभापति थापाले २०४६ साल यता लाभको पदमा बसेका राजनीतिक ब्यक्तित्वहरुको सम्पत्ति छानविन गर्न कांग्रेस नेतृत्व गर्ने पनि बताउनुभयो । सामाजिक सञ्जालमा घृणा र उत्तेजना हाबी भइरहेको चर्चा गर्दै उहाँले आफूले सबै कुराको खण्डन गर्दै नहिंड्ने स्पष्ट समेत पार्नु भयो । थापाले सबै जातजाती, धर्म, सम्प्रदायको अधिकार लेख्ने समितिको आफू सभापति रहेको स्मरण गराउँदै कांग्रेसले सबैप्रति सम्मानभाव राख्ने प्रष्ट पार्नुभयो ।
नेपाली कांग्रेस बाँकेका कार्यवाहक सभापति गोपाल प्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न वृहत चुनावी सभालाई केन्द्रीय उपसभापति पुष्पा भुसाल, लुम्बिनी प्रदेश सभापति एवम् बाँके ३ का उम्मेदवार अमर सिंह पुन, कांग्रेस लुम्बिनी प्रदेश उपसभापति एवम् चुनाव प्रचारप्रसार समिति संयोजक राजु खनाल, बर्दिया २ का उम्मेदवार किशोरसिंह राठौर, बर्दिया १ का उम्मेदवार संजय गौतम, बाँके क्षेत्र नम्बर १ का उम्मेदवार नारायण प्रसाद गौडेल, बाँके २ का उम्मेदवार शुधान्सु कोइराला लगायतले सम्बोधन गर्नु भएको थियो ।






