बाँके, २४ माघः लुम्बिनी प्रदेशकै पहिलो अनलाइन माध्यमबाट सञ्चालन हुने ट्याक्सी तथा मोटरसाइकल सेवा ई–ड्राइभ नेपाल ले आजदेखि नेपालगञ्जमा औपचारिक रूपमा आफ्नो सेवा शुभारम्भ गरेको छ । शनिबार आयोजित उद्घाटन समारोहमा नेपालगञ्ज उपमहानगरपालिकाका नगरप्रमुख प्रशान्त बिष्टले रिबन काटेर सेवाको उद्घाटन गरेपश्चात उक्त सेवा आजदेखि बाँके बर्दिया गरी दुई जिल्लामा सुरु भएको हो ।
नगर प्रमुख बिष्टले भन्नुभयो, “प्रविधिमैत्री यस्ता सेवाले सहरको यातायात व्यवस्थापनलाई सहज बनाउनुका साथै नागरिकलाई सुरक्षित र भरपर्दो सेवा उपलब्ध गराउने विश्वास लिएको छु ।” नेपालगञ्जमा सुरु गरिएको विद्युतीय ट्याक्सी सेवाले यहाँका युवाहरूलाई रोजगार मात्रै दिएको छैन यसले युवालाई आफ्नै देशमा काम गर्ने वातावरणको पनि सिर्जना गरेको नगरप्रमुख बिष्टले बताउनुभयो ।
१८ महिना अघि बुटवल–भैरहवा क्षेत्रबाट सुरु गरिएको ई–ड्राइभ सेवा अब बाँके जिल्लाको प्रमुख सहर नेपालगञ्जमा विस्तार गरिएको ई–ड्राइभ लुम्बिनीका निर्देशक विजय भण्डारी (बासु) ले जानकारी दिनुभयो । उहाँका अनुसार आजैदेखि बाँके र बर्दिया जिल्लामा समेत ई–ड्राइभ नेपालको सेवा विस्तार गरिनेछ ।
सेवा शुभारम्भ कार्यक्रममा बोल्दै निर्देशक भण्डारीले भन्नुभयो, “समयअनुसार सेवा प्रणाली डिजिटल बन्दै गइरहेको सन्दर्भमा ट्याक्सी सेवालाई पनि प्रविधिसँग जोडेर अनलाइन माध्यमबाट सुरक्षित, सहज र सुलभ सेवा प्रदान गर्ने उद्देश्यले नेपालगञ्जमा सेवा सञ्चालनमा ल्याएका हौँ ।”
त्यसैगरी कार्यक्रममा बोल्दै ई–ड्राइभ लुम्बिनीका अध्यक्ष राजकुमार गुप्ताले युवालाई स्वदेशमै स्वरोजगार बनाउने र रोजगारी सिर्जना गर्ने लक्ष्यसहित यो सेवा सुरु गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “युवालाई विदेशिन बाध्य पार्नुको सट्टा स्वदेशमै रोजगारी सिर्जना गर्ने हाम्रो उद्देश्य हो । आगामी दिनमा ई–ड्राइभ सेवालाई देशभर विस्तार गर्ने योजना बनाएका छौँ ।”
हाल ई–ड्राइभ लुम्बिनी करिब ७ करोड रुपैयाँभन्दा बढीको लगानीमा सञ्चालनमा रहेको छ। हाल रुपन्देहीमा १ सय १० वटा ट्याक्सी तथा ५ सयभन्दा बढी मोटरसाइकल चालकमार्फत सेवा दिँदै आएको ई–ड्राइभले नेपालगञ्जमा प्रारम्भिक चरणमा १५ वटा विद्युतीय ट्याक्सीमार्फत सेवा सुरु गरेको जनाएको छ ।






