बाँके, १० माघ । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी सुरक्षा व्यवस्थापनका लागि आवश्यक जनशक्ति पूर्ति गर्न सुरु गरिएको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको भर्ना प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत (नेपालगञ्ज, बाँके) मा सञ्चालन गरिएको प्रारम्भिक शारीरिक परीक्षण र शारीरिक सहिष्णुता परीक्षामा ४ हजार ८ सय २८ जनाले आवेदन दिएका थिए । तीमध्ये ३ हजार ९ सय बीस जना लिखित परीक्षामा उत्तीर्ण भएका छन् । हाल मौखिक परीक्षा सञ्चालन भइरहेको छ, जसको अन्तिम नतिजा भोलि र पर्सिसम्म सार्वजनिक गरिने तयारी रहेको छ ।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेश गुरुङले भन्नुभयो, “आगामी प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण र सुरक्षित रूपमा सम्पन्न गर्न आवश्यक सुरक्षा जनशक्ति व्यवस्थापनका लागि भर्ना प्रक्रिया तीव्र रूपमा अघि बढाइएको छ ।” उहाँका अनुसार माघ ५, ६ र ७ गते प्रारम्भिक शारीरिक परीक्षण तथा शारीरिक सहिष्णुता परीक्षा सम्पन्न गरिएको थियो भने माघ ९ गते लिखित परीक्षा लिइएको हो । आजबाट शुरु गरिएको मौखिक परीक्षा भोलीसम्म सञ्चालन हुने बताईएको छ ।
उहाँका अनुसार भर्ना प्रक्रियाअन्तर्गत नेपाल प्रहरीका लागि दुई हजार एक सय अठासी जना र सशस्त्र प्रहरी बलका लागि तीन सय तीन जनाको आवश्यकता रहेको छ । आवेदन दिन १८ वर्षदेखि ५४ वर्षसम्म उमेर हद तोकिएको भए पनि युवाहरूको सहभागिता उल्लेख्य देखिएको छ । विशेषगरी महिलातर्फ १८ देखि ३५ वर्ष उमेर समूहका आवेदकहरूको संख्या बढी रहेको उहाँले बताउनुभयो ।
सुरक्षा निकायमा आवश्यक जनशक्ति समयमै व्यवस्थापन गरी निर्वाचनलाई निष्पक्ष, स्वच्छ र मर्यादित रूपमा सम्पन्न गराउने लक्ष्यसहित भर्ना प्रक्रिया सञ्चालन गरिएको बाँके प्रशासनले जनाएको छ । बाँकेमा यस पटक क्षेत्र नं. १, २ र ३ गरी तीनै क्षेत्रमा ३ लाख ५० हजार ३ सय ७१ मतदाता रहेका छन् ।






