बाँके, ६ माघः आगामी निर्वाचनका लागि बाँके निर्वाचन क्षेत्र नम्बर २ मा निर्वाचन कार्यालयले आफ्नो प्रशासनिक र प्राविधिक तयारी पूरा गरेको छ । निर्वाचन अधिकृतले एक पत्रकार सम्मेलनमार्फत यस क्षेत्रको मतदाता संख्या, मतदान केन्द्र र निर्वाचन आचारसंहिताका बारेमा विस्तृत जानकारी प्रदान गर्नुभयो ।
निर्वाचन अधिकृतका अनुसार बाँके क्षेत्र नम्बर २ मा डुडुवा गाउँपालिकाका १ देखि ६ वडासमेत र नेपालगन्ज उपमहानगरपालिकाका १ देखि १५ र १८ देखि २३ वडाहरू समावेश छन् । यस क्षेत्रमा निर्वाचन सम्पन्न गर्न ४३ वटा मतदान स्थल र १ सय २४ वटा मतदान केन्द्र तोकिएका छन् । मतदाताको तथ्याङ्क अनुसार यस क्षेत्रमा कुल १,०८,२९० मतदाता रहेका छन् । जसमा पुरुष मतदाताको संख्या ५७ हजार १ सय १७, महिला मतदाताको संख्या ५१ हजार १ सय ६७ र अन्य ६ जना रहेका छन् ।
निर्वाचन आचारसंहितामा विशेष ध्यान दिँदै मुख्य निर्वाचन अधिकृत दीपककुमार दाहालका अनुसार गए राति १२ बजेदेखि नै आचारसंहिता लागू भइसकेको छ र यसको पालनामा कुनै सम्झौता नहुनेछ । आयोगको वेबसाइटमा उपलब्ध ८०–९० पृष्ठको विस्तृत आचारसंहितालाई उद्धृत गर्दै उहाँले मुख्य बुँदाहरूमा जोड दिनुभयो । उहाँले निजी सम्पत्तिको सम्मान गर्नुपर्ने र घरधनीको अनुमति बिना कुनै पनि राजनीतिक दलको झण्डा, चिन्ह वा प्रचार सामग्री राख्न नपाईने बताउनुभयो । साथै, कसैको चरित्र हत्या हुने वा मान–मर्यादामा आँच आउने गरी प्रचार गर्न पूर्ण रोक लगाइएको पनि उहाँले बताउनुभयो ।
उहाँले प्रतिनिधि सभा निर्वाचन दर्ताको विषयमा सर्वदलीय बैठक मार्फत जारी गरिएको सूचना अुनसार निवार्चनमा मनोनयन दर्ता गर्न आउनेले ६ जनाभन्दा बढी लिएर कार्यालय परिसर भित्र आउन नमिल्ने बताएको छ । मुख्य निर्वाचन अधिकृत दाहालका अनुसार २५ जना भन्दा बढी समूहले र्याली लिएर जान नपाउने आचार सहिंता बनाएको बताईएको छ ।
मुख्य निर्वाचन अधिकृत दाहालले सबैको आत्मसम्मान गर्दै कसैको सम्मानमा ठेस नपुर्याई मर्यादित ढङ्गले चुनावी प्रचार गर्न आग्रह गर्नु भएको छ । उहाँले निर्वाचनका हरेक गतिविधि आयोगको कडा निगरानीमा रहने र पूर्वाग्रही नभई निष्पक्ष रूपमा कार्य गरिने प्रतिबद्धता पनि जनाउनुभयो । आज साढे ११ बजेदेखि मनोनयन दर्ताको प्रक्रिया शुरु हुने निर्वाचन आयोग बाँकेले जनाएको छ ।






