बाँके । नेपाल मगर संघ खजुरा गाउँपालिका समिति, बाँकेको आयोजनामा निर्माण भएको संघको भवन तथा कार्यालयको आज उद्घाटन गरिएको छ । मगर समुदायको पहिचान, हक–अधिकार र संस्थागत सशक्तीकरणलाई केन्द्रमा राखेर निर्माण गरिएको उक्त भवन सवा पाँच लाख रुपैयाँको लागतमा निमार्ण गरिएको उक्त भवनको उद्घाटन गरिएको हो ।
मगर समुदाय र राज्यबीचको सम्बन्ध सुदृढ गर्ने महत्वपूर्ण संरचनाका रूपमा भवनको निमार्ण गरिएको नेपाल मगर संघ खजुरा गाउँपालिका समिति अध्यक्ष भीमबहादुर राना मगरले जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै अध्यक्ष रानाले उक्त भवन मगर समुदायको पहिचान र अस्तित्वलाई राज्यस्तर सम्मै स्थापित गर्ने ऐतिहासिक आधार बन्ने बताउनुभयो । उहाँले मगर समुदाय लामो समयदेखि आफ्नो हक, अधिकार र पहिचानका सवालमा राज्यसँग आवाज उठाउँदै आएको उल्लेख गर्दै भन्नुभयो, “यो भवन केवल भौतिक संरचना मात्र होइन, मगर समुदायका आवाज, माग र अधिकारलाई संस्थागत रूपमा अगाडि बढाउने साझा केन्द्र हुनेछ ।”
पञ्चेबाजा सहितको सांस्कृतिक झाँकी प्रस्तुत गरिएको उक्त उद्घाटन कार्यक्रममा अध्यक्ष रानाले मगर समुदायका सवालहरू राज्यका नीति तथा कार्यक्रमसँग जोडिन आवश्यक रहेको औँल्याउँदै भन्नुभयो, “मगर समुदायको भाषा, संस्कृति, परम्परा र जीवनशैली राज्यले चिन्नुपर्छ, सुन्नुपर्छ र सम्बोधन गर्नुपर्छ । यो भवन मगर समुदाय र राज्यबीच सेतुका रूपमा उभिनेछ, जहाँबाट मगरका मुद्दाहरू संगठित र प्रभावकारी ढङ्गले प्रस्तुत गरिनेछ ।”
मगर समुदायको आन्तरिक एकता र पहिचानको महत्वबारे प्रकाश पार्दै उहाँले भन्नुभयो, “मगर, मगर महिला, मगर संस्कार, मगर पहिरन र भेषभूषा हाम्रो आत्मा हुन् । यी मूल्य र पहिचान जोगाउने जिम्मेवारी हामी आफैंले लिनुपर्छ । यो भवनले मगर महिलालाई संगठित हुने, संस्कार र परम्परा हस्तान्तरण गर्ने तथा नयाँ पुस्तामा पहिचानप्रतिको चेतना जागृत गराउने साझा थलोको काम गर्नेछ ।”
भवन निर्माणको औचित्यमाथि स्पष्ट पार्दै अध्यक्ष रानाले भन्नुभयो, “भवन नभएसम्म संस्था केवल नाममा सीमित हुन्छ, भवन बनेपछि संस्था जीवित हुन्छ । यस भवनमार्फत प्रशासनिक कार्य, सांस्कृतिक कार्यक्रम, प्रशिक्षण, छलफल तथा नीति निर्माणसम्बन्धी गतिविधिहरू सञ्चालन गरी मगर समुदायको संस्थागत विकास सम्भव हुनेछ ।”
उहाँका अनुसार तीन कट्ठा क्षेत्रफलको जग्गामा एक कोठे पक्की भवन निर्माण गरिएको छ । उक्त भवनको सवा पाँच लाख रुपैयाँमा निमार्ण गरिएको हो । भवन निर्माणका लागि एकै घरका दुई दाजुभाई प्रेम सिंह ठकुरी र लोकबहादुर सिंह ठकुरीले जग्गा दान गरेर उल्लेखनीय योगदान पुर्याएको अध्यक्ष रानाले जानकारी दिनुभयो ।
कार्यक्रममासोही पालिकाका सबै वडाअध्यक्षहरुको सहभागीता रहेको थियो भने उपस्थित अथितिहरुले भवन निमार्ण गरेकोमा बधाई दिनुभएको थियो । कार्यक्रममा नेपाल मगर संघका पदाधिकारी, स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा मगर समुदायका अगुवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो । 






